लामो समयसम्म दुर्गम भेगमा काम गरेका डा. मिङ्मार शेर्पाले नेपालको स्वास्थ्य क्षेत्रमा धेरै काम गर्न सकिने भए पनि गर्न नसकिएको बताएका छन्। स्वास्थ्य सेवा विभागको महानिर्देशकसम्मको जिम्मेवारी सम्हालेर अहिले व्यक्तिगत पहलमै नेपालभरि अल्ट्रासाउन्ड मेसिन पुर्याउन लागिपरेका छन् उनी।
‘मैले अल्ट्रासाउन्ड मेसिनमात्र पुर्याइनँ, यो चलाउन जान्ने जनशक्ति पनि तयार गरेँ,’ उनले देशसञ्चार चौतारीका क्रममा भने।
उनले नेपालम टेलिमेडिसिनलाई पनि व्यवहारमा ल्याए पनि अहिले त्यो बन्द भएकामा उनी खिन्न छन्। ‘कतिपय राम्रा कुरा कुनै व्यक्तिको पहलमा सुरु भए पनि पछि त्यसले नियमितता पाउँदैन,’ यसपटकको देशसञ्चार चौतारीका क्रममा डा. शेर्पाले भने।
भारत सरकारको सहयोगमा सार्क टेलिमेडिसिन र ग्रामीण टेलिमेडिसिन सुरु गरे पनि यसले अहिले निरन्तरता पाएको छैन। ‘म रिटायर्ड भएपछि टेलिमेडिसिन पनि रिटायर्ड भयो,’ उनले भने। कोभिडकालपछि फेरि टेलिमेडिसिनको कुरा उठे पनि त्यसको निरन्तरता भने हुन नसकेको उनी बताउँछन्।
कतिपय अवस्थामा समाजका कतिपय विकृतिलाई उनले ट्विटरमार्फत पनि उजागर गर्ने गरेका छन्।
उनी स्वास्थ्य सेवाको महानिर्देशक हुँदा केही समय थुनिए पनि। बल्ल केही समयअगाडि आएर उनले त्यो आरोपबाट पूर्णतया सफाइ पाएका छन्। ‘यही स्रोतमा यही अवस्थामा पनि धेरै काम गर्न सकिन्छ,’ उनले भने।
सरकारी सेवामा रहँदा हुने/नहुने जुनसुकै कुरामा हस् भन्न सिकेपछि आफूलाई काम गर्न धेरै सजिलो भएको उनी बताउँछन्। ‘गाउँमा हुँदा जर्मन राजदूतलाई मैले तपाईँहरु झुर औषधि बाँड्नुहुन्छ भन्दा जर्मन संस्थाहरुले मलाई गाली पनि गरे,’ उनले भने। तर, शेर्पा उनको आफ्नो भनाइमा गलेनन्।
सोलुखुम्बुमा बसेर २४ वर्षसम्म गाउँलेहरुको सेवा गरेका डा. शेर्पा नेपालका चिकित्सकहरुले गाउँमा धेरै गर्नसक्ने अवसर पाउने बताउँछन्।
नेपालको स्वास्थ्यबिमा कार्यक्रम प्रभावकारी हुन नसकेकामा दुखी देखिएका डा. शेर्पाले यसलाई प्रभावकारी बनाउन सकिने केही टिप्स पनि देशसञ्चार चौतारीका क्रमा बाँडे। ‘अहिलेकै स्वास्थ्यबिमा कार्यक्रमलाई पनि धेरै प्रभावकारी बनाउनसकिन्छ, जिल्ला अस्पताललाई बलियो भनेर त्यहाँबाट सबै सेवा लिन सकिन्छ,’ उनले अन्तर्वार्ताका क्रममा भने।
प्रजनन स्वास्थ्यको अधिकार र मातृ मृत्युदरका क्षेत्रमा नेपालमा धेरै गर्न सकिने र अल्ट्रासाउन्डजस्ता प्रविधिको सुलभताले यसमा धेरै योगदान पुग्नसक्ने उनी बताउँछन्। उनै डा. मिङ्मार शेर्पासँग नेपालको स्वास्थ्य क्षेत्रमा सुधार गर्न सकिने क्षेत्रहरुलगायतका थुप्रैं विषयमा गरिएको कुराकानी।