
‘काठमाडौं कलिङ साहित्य महोत्सव’को ‘नेपालमा साहित्यिक अनुवादको वर्तमान अवस्था’ शीर्षकमा भएको छलफलमा वक्ताहरुले अनुवादित पुस्तकका पाठक एकदमै कम भएको बताएका छन्।
छलफलमा बुकाहोलिक्सकी संस्थापक तथा अनुवादक सगुना शाह, कवि तथा अनुवादक चन्द्र गुरुङ र समीक्षक तथा अनुवादक महेश पौडेल सहभागी थिए।
हरेक दिनजसो नयाँ पुस्तक बजारमा आइरहँदा अनुवादित पुस्तकहरु कमै पढ्ने महेश पौडेलले तर्क गरे।
‘अनुवादको अस्तित्वलाई भ्यालु नै कति दिन्छौँ भन्ने हो’ उनी भन्छन्, ‘किनभने पढिसकेको पुस्तक फेरि दोहोर्याएर कतिले पढ्छन् होला र?’
पछिल्लो डेढ दशकमा लेखकहरुको गतिशीलता निकै बढेको बताउँदै उनले भने, ‘म लेखक हुँ भनिरहँदा मेरो पनि पुस्तक अग्रेंजी वा हिन्दी भाषामा होस् भन्ने लाग्ने रहेछ । सगौरव भन्न पाइने सबै लेखकहरुलाई नेपाली बाहेक अतिरिक्त भाषामा जाओस् भन्ने हुटहुटी छ ।’
सगुनाका अनुसार अनुवादित पुस्तकको पाठक कम हुन्छन्। किनभने उनी आफैं पनि अनुवाद गरेको पुस्तक धेरै पढ्दिनन्। ‘अंग्रजीमा पढ्न सजिलो लाग्छ भने अंग्रेजीमै पढ्छु। नेपालीमा लाग्छ भने नेपालीमै पढ्छु। कतिले अंग्रेजीमा पढिसकेको पुस्तक पनि नेपालीमा वा हिन्दीमा पढ्छन्।’
नेपालीमा पढिसकेको पुस्तकमा नेपाली भाषाको जुन मिठास हुन्छ त्यो अनुवाद भएका पुस्तकले त्यही उचाईंमा पुर्याउनै नसक्नै उनको बुझाइ छ। कवि तथा अनुवादक चन्द्र गुरुङ नेपालमा अनुवादकहरुको अवसर राम्रो भएको देख्छन्। उनले भने, ‘नेपाली साहित्यलाई विश्वसामु पुर्याउने सुनौलो अवसर हो।’ उनले थुप्रै अंग्रेजी, अरेबिक, हिन्दी, प्यालेस्टाइनी कविता अनुवाद गरेका छन्।