
काठमाडाैँ – श्रीलंकाका लागि प्रश्तावित राजदुत रामकृष्ण भट्टराईले आफू नियुक्त भएमा सार्क र बिमस्टेकलाई क्रियाशील बनाउन कुटनीतिक प्रयास गर्ने बताएका छन्।
बिहीवार संसदीय सुनुवाई समितिको बैठकमा आफ्नो कार्ययोजना प्रश्तुत गर्दै प्रश्तावित राजदुत भट्टराईले सार्क र बिमस्टेकलाई थप क्रियाशील बनाउँदै यस भेगका मुलुकहरुको हित र विकासका लागि कुटनीतिक प्रयास गर्ने बताएका हुन्।
उनले असंलग्न परराष्ट्र नीतिको परिधिभित्र रहि नेपाल र श्रीलंकाबीचको द्विपक्षिय सम्बन्धलाई सुदृढ र फलदायी बनाउन प्रयास गर्ने बताए। उनले क्रिकेट लगायतका कतिपय खेलमा श्रीलंकाको अनुभव र प्रविधि नेपाललाई आवश्यक भएको भन्दै खेलकुदमा सहकार्यको वातावरण बनाउन पहल गर्ने बताए। लुम्बिनी बौद्ध विश्वविद्यालय र श्रीलंकामा सञ्चालित बौद्ध विश्वविद्यालयबीच आपसी सहकार्य गर्ने परिस्थिति बनाउन जोड दिने उनले बताए।
उनले लुम्बिनी, काठमाडौं र कोलम्बोबीच नियमित हवाइ उडान सञ्चालनका लागि पहल गर्ने बताए। त्यसैगरी लुम्बिनीको विकासका लागि थप आर्थिक सहयोग जुटाउन प्रयास गर्नेपनि उनको भनाइ छ।