
झापा – कानुनले नै अपराध मानेको झापा बुद्धशान्ति–१ को छुवाछुतको घटनाका विषयमा प्रहरीमा उजुरी दिएका व्यक्तिलाई उजुरी फिर्ता लिन र मिल्न दबाब दिएको घटनाको झापा दलित समुदायका अगुवाहरूले विरोध जनाएका छन्।
उनीहरूले छुवाछुत र भेदभावपूर्ण व्यवहारको घटनालाई मिलापत्र गरी माफी मिनाहा दिन दबाब दिएको भन्दै पत्रकार सम्मेलनमार्फत खबरदारी गरेका हुन्।
बिहीबार बिर्तामोडमा पत्रकार सम्मेलन गरी दलित अधिकारको क्षेत्रमा कार्यरत विभिन्न ४ वटा संघसंस्थाका अगुवाहरूले खबरदारी गरेका हुन्।
भदौ १२ गते बुद्धशान्ति–१ होक्सेका बलबहादुर खातीलाई स्थानीय चित्रबहादुर श्रेष्ठ र पुष्पलाल घिमिरेले छुवाछुत तथा भेदभावपूर्ण व्यवहार गरेको र उनीहरूलाई कारबाहीका लागि जाहेरी दिँदासमेत प्रहरी र सामाजिक अगुवाहरुले माफी मिनाहा दिनका लागि दबाब दिएको भन्दै उनीहरूले पत्रकार सम्मेलनमार्फत विरोध गरेका छन्।
अभियुक्तमध्येका घिमिरेले ‘एकाबिहानै बले कामीलाई देखेर लोदर लाग्यो’ भन्ने अभिव्यक्ति दिएको र सो घटनालाई श्रेष्ठले भिडियो बनाई सामाजिक सञ्जाल फेसबुकमा अपलोड गरेको उनीहरूले बताएका छन्।
उत्पीडित दलित समुदायका संगठनका नेताहरूले घटना थाहा पाएपछि भदौ २४ गते इलाका प्रहरी कार्यालय धुलाबारीमा जाहेरी दिँदा लिन नमानेको र प्रहरीलाई दबाब दिएपछि मात्र जाहेरी लिएको दलित मुक्ति मोर्चा झापाका अध्यक्ष सुरेश खातीले बताए।
भदौ २५ गते अभियुक्तलाई पक्राउ गरिएको र छलफल गर्न पीडित बलबहादुरलाई प्रहरीले खबर गरेको थियो। तर, पीडितले कानुनी कारबाही हुनुपर्ने अडान राखेका थिए। पछि एक जना जनप्रतिनिधिलाई अभियुक्तलाई जिम्मा लगाएर पठाइएको दलित समुदायका अगुवाहरूले बताएका छन्।
२६ गते अभियुक्तको पक्षमा भेला भएका राजनीतिक दलका प्रतिनिधि तथा सामाजिक अगुवाहरूले कानुनी कारबाही प्रक्रिया अगाडि बढाउँदा सामाजिक सद्भाव भड्किने भन्दै मिलापत्र गर्न दबाब दिएको पूर्व जिसस प्रमुखसमेत रहेका दलित अगुवा सोमनाथ पोर्तेलले बताए। प्रहरीले अभियुक्तहरूलाई घटना भएको क्षेत्र इलाम भएको भन्दै इलाका प्रहरी कार्यालय पशुपतिनगरमा अभियुक्त र जाहेरी पठाएको बताइएको छ।
बिहीबार विहान ५०/६० जनाको समूह जाहेरवाला बलबहादुर खातीको घरमा आएर मुद्दा फिर्ता लिन दबाब दिएको पोर्तेलको भनाइ छ।दबाबमा पारेर पीडित बलबहादुरलाई इलाका प्रहरी कार्यालय पशुपतिनगरतर्फ लैजाँदै गर्दा प्रहरीले अभियुक्तहरुलाई म्याद थपका लागि जिल्ला अदालत इलाम लगिसकेको जानकारी पाएपछि बलबहादुरलाई फर्काइएको उनीहरूले बताए। उनीहरूले अभियुक्तहरूलाई हदैसम्मको कानुनी कारबाहीको माग गरेका छन्।