
नेपालगञ्ज – गोपाल–नीना फाउण्डेशनले स्थानीय निलसागर सेवा आश्रममा आश्रित बालबालिकालाई विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गरेको छ। राष्ट्रिय बाल दिवसको अवसरमा शनिबार आयोजित विशेष स्वास्थ्य शिविरबाट ६८ जना बालबालिका लाभान्वित भएका हुन्।
फाउण्डेशनका सहनिर्देशक डा. तृप्ती पाल रमणले दिएको जानकारीअनुसार आश्रममा आश्रित अभिभावकविहीन, आफन्तसमेत गुमाएका सहाराविहीन अधिकांश बालबालिकामा खटिरा, शरीर चिलाउने, छाला, दाँत र मुख आदिको समस्या देखिएको थियो।
फाउण्डेसनका संस्थापक अध्यक्ष डा. गौरव श्रेष्ठका अनुसार गोपाल–नीना फाउण्डेशनद्वारा निःशुल्क स्वास्थ्य परीक्षण र औषधी वितरणका साथै उक्त आश्रममा आश्रित २ सय २० जनालाई बिहानको खाना पनि खुवाइएको थियो भने सबै बालबालिकाहरुलाई स्टेसनरीको किट र हाइजिन किट पनि वितरण गरिएको थियो।
कार्यक्रममा प्रसिद्ध स्त्रीरोग विशेषज्ञ डा. नीना श्रेष्ठ, फाउण्डेसनका संस्थापक अध्यक्ष डा. गौरव श्रेष्ठ र आयोजक टिमका अन्य अतिथिले खाना खुवाएका थिए।
पश्चिम नेपालका वरिष्ठ फिजिसियन डा. गोपालप्रसाद श्रेष्ठ र स्त्रीरोग विशेषज्ञ डा. नीना श्रेष्ठको नाममा उनका छोरा डा. गौरव श्रेष्ठको अध्यक्षतामा एक वर्षअघि स्थापित उक्त फाउण्डेसनले विभिन्न सामाजिक गतिविधि तथा स्वास्थ्य सेवासम्बन्धी कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ।