
काठमाडौँ- लगातारको झरीका कारण अवरुद्ध मुग्लिङ-काठमाडौँ सडक सोमबारदेखि एकतर्फी रुपमा खुलेको छ। पहिरो बिस्तारै पन्छाउँदै गएका कारण बाटोमा रोकिएका सवारी साधनहरुलाई भित्र पस्न अनुमति दिइएको हो।
झ्याप्ले खोलामा गएको पहिरोका कारण कम्तीमा ३९ जनाको ज्यान गुमाएको यस खण्डमा सोमबारदेखि काठमाडौँ भित्रिने यात्रुबाहक बसहरुलाई आउन दिइएको नागढुंगा प्रहरीले जानकारी दिएको छ। अहिले झ्याप्ले खोलासहितका ठाउँमा सडकको पहिरो पन्छाउने काम भइरहेकाले गाडीहरुलाई काठमाडौँ भित्रन मात्रै अनुमति दिइएको प्रहरीले जनाएको छ।
थानकोटका डिएसपी सूर्यप्रकाश सुवेदीका अनुसार काठमाडौँ आउन नपाई बाटैमा चार दिनदेखि रोकिएका गाडीलाई अहिले काठमाडौँ पस्ने अनुमति दिइएको हो। धेरै ठाउँमा पहिरोले बाटो एकतर्फी रहेको र काठमाडौँबाट गाडी पठाउँदा क्षति हुनसक्ने तथा अबरुद्ध हुनसक्ने भएकाले काठमाडौँ भित्रिने गाडीको लाम हटाएपछि मात्रै दुईतर्फी बाटो सुचारु गर्ने प्रहरीले जानकारी दिएको छ।
सोमबार बेलुकासम्म राजमार्गको पहिरो पन्छाउने काम सकिने प्रहरीले बताएको छ। काठमाडौँ भित्रन नागढुंगादेखि नौबिसेसम्म ठूलो संख्यामा गाडीहरु पालो कुरिरहेका छन्।