
काठमाडौँ- अदालतको अवहेलनामा दोषी ठहर भएका राजकुमार तिमल्सिनाले लगातार फोनबाट धम्की दिने गरेका आफू मानसिक रोगको औषधि लिन बाध्य भएको सर्वोच्च अदालतका उपरजिस्ट्रार एवं सहायक प्रवक्ता गोविन्द घिमिरेले बताएका छन्।
बिहीबार साँझ देशसञ्चारसँग कुरा गर्दै सर्वोच्चका उपरजिस्ट्रार घिमिरेले अदालतको अवहेलनामा दोषी ठहर भएका र हाल फरार रहेका तिमल्सिनाले बारम्बार फोनबाट धम्की दिने गरेको बताए।
उनले भने, ‘मलाई मात्र होइन, मेरो परिवार, छोरा छोरीलाईसमेत लक्षित गरेर धम्की आउन थालेपछि म अहिले मानसिक पीडामा छु। तेरो छोरो यहाँ पढ्छ, छोरी यहाँ पढ्छे जस्ता धम्की आइरहेका छन्।’
सिधाकुरा प्रकरणमा विवादित अडिओमा आफूले अदालतको अवहेलना मुद्दा अघि बढाउने प्रयोजनका लागि प्रतिवेदन उठाएका कारण आफूमाथि बारम्बार मानसिक प्रहार भएको उनले सुनाए।
उनले भने, ‘त्यो काम मेरो पदले गरेको हो। त्यो काम गोविन्द घिमिरेले गरेको हो र! त्यो रामे, श्यामे जो भए पनि गर्नुपर्छ। मैले गरें।’ सोही विषयलाई आधार बनाएर विभिन्न नम्बरहरूबाट फोन गरेर आफूलाई धम्की दिने काम भइरहेको उनले बताए।
सोही मुद्दामा सुनुवाइ गर्दै सर्वोच्च अदालतले दुई जना पत्रकार र तिमल्सिनलाई कैद सजाय सुनाएको थियो। दुई जनाले कैद भुक्तान गरेर रिहा भइसकेका छन् भने तिमल्सिना अझै फरार छन्। उनलाई छ महिनाको कैद सजाय तोकिएको छ।
आफूलाई आएको धम्कीका बारेमा सुरक्षा निकायले चासो राखेको उनले बताए। उनले भने, ‘सर्वोच्चकै सुरक्षा यनिटबाट सुरक्षा दिनेबारे कुरा भयो। मैले अहिले नै पर्दैन, चाहिएमा भन्छु भनेको छु।’
आफूलाई मात्र आएको धम्कीले खास असर नगर्ने तर परिवार जोडेर परिवार र छोरा छोरीको असुरक्षा हुने हो कि भन्ने चिन्ताले सताएको घिमिरेले बताए।
उनले भने, ‘मलाई मात्र हुँदा त म टेर्नेवाला होइन। तर परिवार पनि जोडेपछि धेरै तनाव हुने रहेछ।’