
झापा- पूर्वपश्चिम राजमार्गमा चल्ने राता रंगका बसहरूको दादागिरी र सडकमा गुड्ने प्रतिस्पर्धाका कारण दिनहुँ जस्तो दुर्घटना हुने गरेका छन्।
एकले अर्कालाई जित्ने र यात्रु टिपेर हुइँकिने गर्ने गरेका काँकरभिट्टाबाट बिराटनगर र धरान रुटमा चल्ने राता रंगका बसका दादागिरीबारे सर्वसाधारणले व्यापक गुनासो पोख्दासमेत ट्राफिक प्रहरी मुकदर्शकजस्तै बनिरहेको छ।
सोही प्रकृतिको दादागिरीका कारण शनिवार कमल गाउँपालिका ५ मा रातो रंगको एउटा बसले मोटरसाइकललाई घिसार्दा एक जना पुरुषको मृत्यु भएको छ।
झापाको कमल गाउँपालिका– ५ रबि पेट्रोल पम्पअगाडि रातो रंगको बसले ठक्कर दिएपछि घिसारेर मोटरसाइकल चालकलाई मारेको खुलेको छ।
शनिवार दिउँसो १२.३० बजे पूर्वपश्चिम राजमार्गमा दमकबाट बिर्तामोडतर्फ आउँदै गरेको प्रदेश न.१–०१–००१ ख ३४३५ नम्बरको कनकाई माई पाथिभरा यात्रुबाहक बसले सोही दिशातर्फ आउँदै गरेको को १६ प ५३२२ नम्बरको मोटरसाइकलका चालक मोरङ केराबारी गाउँपालिका ७ बस्ने ५५ वर्षीय पदम मुकारुम राईलाई ठक्कर दिएपछि घिसारेर मारेको देखिएको प्रत्यक्षदर्शीहरुले बताएका छन्। जसबाट मोटरसाइकल चालक राईको घटनास्थलमै मृत्यु भएको छ।
यसरी घिसारेर मारेपछि स्थानीयबासी आक्रोशित बनेका थिए। उनीहरुले बसको सीसा तोडफोड गर्नुका साथै आगजनी गरेका थिए। आगजनीबाट बसको अगाडीको भागमा सामान्य क्षति पुगेको छ। उनीहरुले करिव आधा घण्टा पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका थिए।
बसले ठक्कर दिएपछि लडेका मोटरसाइकल चालकलाई घिसारेको देखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए। बस चालक गौरादह –१ बस्ने ३५ वर्षीय संजय नेपालीलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ।
बसले लापरबाही तरिकाले जानीजानी मारेको भन्दै स्थानीयबासी आक्रोशित भएपछि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो। इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक निशान थापाको कमाण्डमा ५१ जना र ट्राफिक प्रहरी कार्यालय दमकबाट प्रहरी नायव निरीक्षकसहितको प्रहरी टोली खटिएर सम्झाई बुझाई चक्काजाम खुलाएको थियो।
रातो रंगका बसहरुले तीब्र गतिमा जथाभावी चलाउने गरेको गुनासो पटकपटक आए पनि उनीहरूलाई ट्राफिक प्रहरीले कारबाही गर्न सकिरहेको छैन।