
अनौपचारिक कुराकानीका क्रममा एक ठूलै बैँकका ठूलै कर्मचारीले भने- विज्ञापनदाताका प्राथमिकतामा दुईथरि मिडिया हुन्छन्, एकथरि जसले गोद्छन्, अर्काथरि जसले थर्काउँछन्। नगोद्ने वा नथर्काउने मिडियालाई हामी ध्यान पनि दिँदैनौँ।
अर्थात इमानको समय सकियो? अर्थात व्यवसायिकताको समय सकियो? अर्थात सरलताको समय सकियो?
म एउटा व्यवसायिक व्यक्तिका रुपमा करिब दुई दशकदेखि कर्पोरेट हाउसहरुसँग नजिक छु। मेरो आफ्नै अनुभव के छ भने थर्काउने मिडियासँग लुरुक्क परेर पछाडि लाग्ने कर्पोरेट हाउसका प्रमुखहरु इमानदार मिडियासँग भने लुसुक्क भाग्छन्।
इमान र व्यवसायिकतालाई हतियार बनाएर लामो समय हिँडिरहँदा कहिलेकाहिँ शुभचिन्तकहरु चिन्ता गर्दै भन्छन्- ‘अहिलेको समयमा इमानदार भएर हुँदैन कपिलजी। सोझो औँलाले कहाँ घिउ आउँछ?’
इमानको समय साँच्चिकै सकिएकै हो त?
मैले जीवनभर सिकेको भनेकै इमान्दारी, कर्मप्रतिको विश्वास, कामप्रति निष्ठा र अरुलाई गर्ने व्यवहारमा शीष्टता हो- के अब यी सबै आउटडेटेड भएकै हुन् त ?
अहिलेको बजारमा ठोकतन्त्रकै बोलबाला छ। कर्पोरेट हाउसहरु पनि ठोक्नेसँग डराउँछन्। कोही डराएनन् भने मिडिया क्षेत्रका सहकर्मीहरु नै भन्छन्- नटेर्ने? ठोक्दिउँ? नंग्याइदिउँ?
विगत दुई दशकमा मैले धेरै स्मृति र सिकाइ साँचेको छु। बलिया संस्थाहरुसँग काम गर्न पाएँ, लामो समयको कार्यअनुभवले मार्केटिङ र कर्पोरेट हाउस, विभिन्न उद्दोग घराना, मिडिया एजेन्सी, विज्ञापन एजेन्सी सबै क्षेत्रको बारे बुझ्न पाएँ। तर विगत केही वर्षदेखि मैले ठोकतन्त्रको बोलबाला देखेको छु। व्यवसायिकतन्त्र हराउँदै गएको छ। व्यवसायिकतन्त्रले अपेक्षित सम्मान पाइरहेको छैन।
कर्पोरेट हाउसका वरिष्ठ अधिकारीहरु आफूलाई भगवान् नै ठान्छन् जो इमानदार व्यक्तिहरुलाई भेट्नै चाहँदैनन्। मिडिया र कर्पोरेट क्षेत्रलाई एक अर्काको परिपूरकका रुपमा लिइन्छ तर ठोक्ने मिडियासँग डराउने कर्पोरेट हाउस बाँकी मिडियासँग भने लुक्न रुचाउँछ।
व्यवसायिक सम्बन्धहरुको एउटा महत्त्वपूर्ण पक्ष भने दुवै पक्षको आत्मसम्मान हो। तर कतिपय कर्पोरेट हाउसका अधिकारीहरुलाई सायद यो शब्दको अर्थ पनि थाहा छैन होला। जति कडा र अपमानपूर्ण शब्दहरु बोल्यो, त्यति धेरे रवाफिलो होइन्छ भन्ने मान्यताले गाँजेको छ यो क्षेत्रका अधिकारीहरुलाई। तर नम्र व्यवहार र सम्बन्धमा मिठास भयो भने सायद मिडिया र कर्पोरेट दुवै क्षेत्रको हित हुन्छ।
कतिपय बेला कर्पोरेट हाउसका अधिकारीहरु आफूबाहेक अरुलाई तुच्छ व्यवहार पनि गर्न पछि पर्दैनन्। कम्पनीमा हर्ताकर्ता भएर बसेका ‘बोक्रे’हरुले एकदिन नेपालकै उद्दोग धन्दा र कलकारखानालाई धराशायी बनाउन बेर छैन। व्यवसायिक मिडिया र कर्पोरेट हाउसको दुरी दिनानुदिन बढेको म देख्न सक्छु।
व्यवसायिक सम्बन्धहरुको एउटा महत्त्वपूर्ण पक्ष भने दुवै पक्षको आत्मसम्मान हो। तर कतिपय कर्पोरेट हाउसका अधिकारीहरुलाई सायद यो शब्दको अर्थ पनि थाहा छैन होला। जति कडा र अपमानपूर्ण शब्दहरु बोल्यो, त्यति धेरे रवाफिलो होइन्छ भन्ने मान्यताले गाँजेको छ यो क्षेत्रका अधिकारीहरुलाई। तर नम्र व्यवहार र सम्बन्धमा मिठास भयो भने सायद मिडिया र कर्पोरेट दुवै क्षेत्रको हित हुन्छ।
समग्र देशको अवस्थाले अहिले भित्रैबाट हल्लाउँछ। मिडिया क्षेत्रको अवस्था पनि दयनीय बनेको छ। कर्पोरेट हाउसहरु पनि खासै राम्रो अवस्थामा छैनन्। यस्तो बेला सबै क्षेत्रका मानिस मिलेर गए भने सायद यसले केही राम्रो नतिजा देला कि!
कर्पोरेट हाउसहरुलाई जसले बढी प्रलोभन दियो, जसले धम्क्यायो, जसले ठूलो स्वर गर्यो, जसले नभएको कुराहरु कम्पनीको नामसँग जोडेर लेख्यो, प्रचार गर्यो – उही प्रिय हुने गरेको छ। उनीहरुको धम्कीलाई पुरस्कृत गर्ने प्रवृत्ति छ। निष्पक्ष पत्रकारिता, व्यवसायिक मार्केटीङ टोली र उनीहरुको इमानलाई कमजोर मानिन थालेको छ। पछिल्लो समय कर्पोरेट हाउसहरुले इमानदार मिडियालाई हेर्ने नजर साँच्चिकै डरलाग्दो छ। शिष्टाचार बिर्सिएका कर्पोरेट हाउस र व्यवसायिक घरानाहरुमा बढ्दो घमण्डको पारो कहाँसम्म पुगेर झर्ने हो? कुनै पत्तो छैन।
नयाँ पुस्ताले अबको कर्पोरेट हाउस र घरानाहरु समाल्दै गर्दा उनीहरुले आत्मसम्ममानपूर्ण व्यवहारलाई सायद पहिलो प्राथमिकतामा राख्नुपर्छ। सम्मानपूर्वक बाँच्ने र सम्मानपूर्वक बाँच्न सक्नेहरुले नै हो अबको विश्वमा नेतृत्व गर्ने।
कर्पोरेट हाउसहरु ठोक्ने मिडियाहरुसँग लुरुक्क पर्ने र अन्य मिडियाहरुसँग लुसुक्क भाग्ने प्रवृत्तिले उनीहरुलाई सायद कहिँ पनि पुर्याउँदैन।