
वीरगञ्ज – आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले मनोमानी कर उठाएका कारणले महँगी बढेको बताएका छन्।
दिपावली तथा छठ पर्वको अवसरमा सोमबार रौतहटको घिउरामा आयोजित शुभकामना अदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले शान्ति सुरक्षा कायम गर्न असफल भएको ओली सरकार हरेक वस्तुमा कर आतंक मचाएको टिप्पणी गरे।
करको नाममा हरेक क्षेत्रमा ओली सरकारको आतंक मचाएको उनले आरोप लगाए। ‘सरकार शान्ति सुरक्षा कायम गर्न असफल भएको छ। हत्या, हिंसा, लुट, भ्रष्टाचार बढ्दै गइरहेको छ,’ उनले भने, ‘यहाँ ओली सरकारको करमाथि कर लगाउने, असुल्ने र राज्यको ढुकुटी सिध्याउने कामले महँगी बढेको हो।’
सीमावर्ती क्षेत्रका नागरिकलाई शान्ति सुरक्षा दिन असफल भएको ओली सरकारले निजी कर छलीको नाममा निजी सम्पत्ति लुटिरहेको उनले आरोप लगाए।
सरकारले सत्तारुढ दलका अपराधी र भ्रष्टहरुलाई जोगाइरेको बताउँदै उनले विभिन्न ठूला काण्डमा मुछिएका सत्तारुढ दलका नेतालाई जोगाउने काम ओली सरकारले गरेको बताए। प्रहरी प्रशासनदेखि सबै क्षेत्रमा सरकारी आतंकले सर्वसधारण नागरिक दुःख पाइरहेका साहले जिकिर गरे।