
काठमाडौं- आईसीसी यु-१९ महिला टी-२० विश्वकप अन्तर्गतको एसिया क्षेत्र छनोटको आफ्नो पाँचौ खेलमा नेपालले चौंथो जित हासिल गरेको छ। कप्तान पूजा महतोले कीर्तिमानी ब्याटिङ र बलिङ गर्दै नेपाललाई फराकिलो जित दिलाइन्। ब्याटिङ तर्फ १ सय ३० रन बनाएकी पूजाले बलिङ तर्फ कुवेतको पाँच विकेट चट्काएसँगै नेपालले १ सय ६५ रनको फराकिलो जित हासिल गर्यो।
नेपालले दिएको २ सय १४ रनको लक्ष्य पछ्याएको कुवेत १३ ओभरमा ४८ रनमा समेटियो। कुवेतका लागि जिफा जिलीयानीले ३६ रन जोड्नु सर्वाधिक रह्यो। उनी बाहेक अन्य कुनैपनि ब्याटरले दोहोरो स्कोरमा रन बनाउन सकेनन्। कुवेतका ८ खेलाडी शुन्य रनमा समेटिए। नेपालका लागि पूजाले ४ ओभर बलिङ गर्दै ८ रन खर्चिएर ५ विकेट लिइन्। त्यस्तै सिमा केसी र रनचा कुमारी चौधरीले २-२ विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १ सय १३ रन बनाएको थियो। नेपालका लागि पूजाले ५७ बलमा १२ चौका प्रहार गर्दै शतक पुरा गरेकी थिइन्। उनले ६९ बलमा १७ चौकाको सहयोगमा १ सय ३० रनको नटआउट इनिङ खेलिन्। उनी समग्र अन्तर्राष्ट्रिय महिला क्रिकेटमा शतक प्रहार गर्ने दोस्रो नेपाली खेलाडी बनिन्। उनी अघि गत वर्ष एसीसी वुमन्स प्रिमियर कमा रुविना क्षेत्रीले सिनियर तर्फ नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय शतक प्रहार गरेकी थिइन्।
साथै विश्वकप छनोटको जारी प्रतियोगितामा शतक प्रहार गर्ने पुजा पहिलो खेलाडी समेत बनिन्। पूजा अघि यो प्रतियोगितामा सर्वाधिक रनको कीर्तिमान युएइकी लाभन्या केन्याले बनाएको ९९ रनको रहेको थियो। कुवेत विरुद्ध उच्च लक्ष्य प्रस्तुत गर्ने क्रममा पुजालाई सोनी पाख्रीनले ३३ बलमा ४३ रन बनाएर साथ दिइन्।