
झापा – झापाको कनकाई नगरपालिका वडा नं ६ को वडाध्यक्षका लागि ९ जनाले उम्मेदवारी दिएका छन्। स्थानीय तह उपनिर्वाचनअन्तर्गत यही मंसिर १६ गते हुने मतदान हुँदै छ।
आइतबार बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म ९ जनाले उम्मेदवारी दर्ता गराएका जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी नेपालले जानकारी दिए।

उम्मेदवारी दर्ता गराउँदै कांग्रेस उम्मेदवार।
उनका अनुसार स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली, नेपाली कांग्रेसबाट रामगोपाल ओली, नेकपा एमालेबाट तुलराम बस्नेत, नेकपा माओवादी केन्द्रबाट गणेशबहादुर थापा, जनमत पार्टीबाट सुकलाल राजवंशी, राप्रपाबाट नारायण निरौला, नागरिक उन्मुक्ति पार्टीबाट जमुना राजंवशी, मंगोल नेशनल अर्गनाइजेसनबाट पदमबहादुर तामाङ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट दलबहादुर श्रेष्ठले मनोनयन दर्ता गराएका हुन्।
९ जना उम्मेदवारमध्ये ८ जना पुरुष र एकजना महिला छन्। कांग्रेस, एमालेलगायतका ठूला दलका उम्मेदवारहरु र्यालीसहित मनोनयन दर्ता गराउन गएका थिए।
मनोनयन दर्ता गराएका उम्मेदवारको सूची प्रकाशन गरिएको छ। उम्मेदवारको विरोधमा मंसिर ३ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म उजुरी दिन सकिने कार्यसूची छ।
मंसिर ५ लाई उम्मेदवारीको नाम फिर्ता लिने समय तोकिएको छ। त्यही दिन अपराह्न उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्न प्रदान गरिनेछ।
कनकाई ६ का वडाध्यक्ष दीर्घबहादुर थापाको निधनपछि उक्त वडामा उपनिर्वाचन हुन लागेको हो। १०५८ महिला र १००० पुरुषगरी उक्त वडा जम्मा २०५८ जना मतदाता रहेका छन्। मतदानका लागि चम्पापुर मावि मतदानस्थलमा दुईवटा केन्द्र तोकिएका छन्।