
झापा- झापाको बिर्तामोडस्थित बिर्तामोड आँखा अस्पतालले दाँतको पनि उपचार सेवा विस्तार गरेको छ।
विश्वसनीय दन्तसेवा प्रदान गर्ने उद्देश्यले नेशनल एडभान्स डेन्टल केयरको सेवा सुरु गरिएको अस्पतालका सञ्चालक विनोद दाहालले जानकारी दिए।
आइतबार नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवका आर्थिक सल्लाहकार शम्भुशरणप्रसाद कायस्थले उक्त डेन्टल केयरको उद्घाटन गरेका हुन् । नेपाल सरकारका पूर्व अर्थसचिव तथा राष्ट्रिय योजना आयोगका पूर्व सदस्यसमेत रहेका कायस्थले अब बिर्तामोडमा नै विश्वस्तरीय दन्तसेवा सुरु भएकोमा खुशी व्यक्त गरे ।
बिर्तामोड आँखा अस्पतालसँगको सहकार्यमा अस्पतालको तेस्रो तलामा नेशनल एडभान्स डेन्टल केयरले सेवा आइतबारबाट सुरु गरेको हो । काठमाडौंमा एडभान्स डेन्टल केयरमा दुई दशकको सेवा र अनुभवका आधारमा बिर्तामोडमा सेवा विस्तार गरिएको डेन्टल केयरका सञ्चालक डा. समिर अर्यालले जानकारी दिए ।
डा. समिर, डा. ज्योति अर्याल, डा. आरती झासहितको टिमले अस्पतालमा सेवा प्रदान गर्ने बताइएको छ ।
कार्यक्रममा बिर्तामोड आँखा अस्पतालका डा. राजेश प्रधान, एडभान्स प्याथोलोजिकी डा. सीमा प्रधान तथा अस्पतालका सञ्चालकद्वय विनोद दाहाल र भरत सापकोटाले नेशनल एडभान्स डेन्टल केयर स्थापनाको आचित्य र सहकार्यबारे प्रष्ट्याएका थिए ।
उक्त अस्पतालमा दैनिक तीन सयको हाराहारीमा नेपाल तथा भारतबाट आँखा उपचारका लागि बिरामी आउने गरेको र उनीहरुमध्ये धेरैले दाँत सम्बन्धी सेवाको बारेमा समेत जिज्ञासा राख्ने गरेकाले बिरामीको सहजताका लागि दन्त सेवा सुचारु गरिएको बताइएको छ ।
उक्त डेन्टल केयरमा अत्याधुनिक उपकरणको प्रयोग तथा बिरामीको सुविधा र सुरक्षालाई विशेष ध्यान दिइने अस्पताल सञ्चालकहरूले बताएका छन् । प्राकृतिक दाँतको सुरक्षा र संरक्षणलाई प्राथमिकतामा राखिने डा. समिरले बताएका छन्।