
मुगु – छायाँनाथरारा नगरपालिका–५ मा अवस्थित श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय कार्कीवाडामा हिउँद ऋतुमा दिउँसै घाम डुप्ने समस्याका कारण विद्यार्थीको पढाइमा चुनौती आएको छ।
विद्यालय वरपरको मैतुडाँडाले दिउँसै घाम छेक्ने भएकोले अत्यधिक चिसोमा पनि विद्यार्थीहरू पढ्न बाध्य भएका छन्।
विद्यालयमा कक्षा १ देखि कक्षा ८ सम्म अध्ययन गर्ने चार सय जना विद्यार्थीमध्ये अधिकांश चिसो मौसममा मात्र एकसरो लुगामै अध्यन अध्यापन गराउनु र कक्षाकोठामा बस्नुपरेको प्रधानाध्यापक जंगबहादुर शाहीले बताए।
एकातिर बिद्यालयमा कक्षाकोठा अभाव हुनु र अर्कोतिर जीर्ण भवनमा शीतयुक्त कोठाका कारण बालबालिकालाई चिसोमा काप्दै पढ्न बाध्य हुँदा पढाइमा ध्यान दिन कठिन भएको उनको भनाइ छ।
विद्यालयले अत्यधिक चिसोको कारण विद्यार्थीको स्वास्थ्यमा असर पर्ने भन्दै विभिन्न संघ संस्था र निकायसँग आवश्यक सहयोगको लागि आग्रह गरेको छ। चिसोबाट बच्नका लागि विद्यार्थीलाई न्यानो कपडाको व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको शिक्षकले महशुस गरेका छन्।