देशसञ्चार चौतारी : भाग-७२

मादल नबजाए मेरो हात चिलाउँछ

+
-

पश्चिम सल्यानको त्रिवेणीबाट गायक बन्न नेपालगञ्ज हुँदै काठमाडौँ हिँडेका थिए खर्कबहादुर बुढा मगर अर्थात खड्क बुढा । अहिले यो सहरमा उनी मादलका उस्ताद भएका छन् । स्टेजदेखि स्टुडियोसम्म उनी मादल घन्काउँछन् । करिब तीन दशकदेखि मादल बजाउन थालेका वाद्यवादक खड्क बुढा र लोक गायिका अर्थात उनको जीवनसाथी लीलावती बुढामगरले देशसञ्चार चौतारीमा आफ्नो अनुभव सुनाएका छन् ।

‘गाउँमा म नाच्ने हो, अञ्चलमा गायक हो र काठमाडौंमा वाद्यवादक हो,’ खर्कले कुराकानीको गाँठो फुकाए । र गायिका लिलावतीले भनिन्, ‘उहाँ बजाउनु हुन्थ्यो नाच्नुहुन्थ्यो मचाहिँ घाँसदाउरा गर्दै गीत गाउँथे ।’

उमेरको पचास दशकमा पनि उम्दा गाउने बजाउने खर्कले ३५ हजार गीतमा मादल बजाइसकेका छन् । उनको मादलको ताल समावेश नभएको गीत छैनजस्तो लाग्छ । उनी भन्छन्, ‘अहिले मादल बजाउनेलाई राम्रै छ। यो सहरमा टिक्न सकेको नै मादल बजाएर हो ।’

सानैदेखि मादल बजाए उनले । गाउँमा रहरैरहरले मादल बजाउँथे । गीत गाउँथे र नाच्थे । घरको पिँडीको खाँबामा झुन्डाएर राखेको पुरानो मादल बजाउन थालेपछि उनका बाले हप्काउथे । हजूरआमाले घाँस काट्न जा भन्थिन् र पनि उनी मादल बजाउनमै हराउँथे ।

‘घरको अथारोमा बसेर मादल घन्टौ बजाइदिन्थेँ । अनि बा रिसाएर भन्नुहुन्थ्यो—यसले मादल बजाएरै खाने भो,’ उनले ती दिन सम्झिए।

खर्क र लीलावतीको गाउँ एउटै। घर पनि नजिकै। उकाली ओराली गर्दै, वनपाखामा दाउरा खोज्दै हुर्किए। खर्कबहादुर लीलावतीका लागि दाउरा खोजिदिन्थे। साँझ फर्किंदा लीलावती दाउराको भारी बोकेर फर्किन्थिन्, तर खर्कबहादुर हुन्थे रित्तै । दाउरा खोज्न गएको नाति रित्तै फर्किएको देखेपछि खर्ककी हजुरआमा रिसाउँथिन् । त्यो पल सम्झँदै खर्कबहादुरले हाँस्दै भने, ‘त्यही वेलादेखि म लीलावतीलाई प्रेम गर्थेँ ।’

‘गाउँघरमा बिहान–बेलुकी नै जाँतोमा मकै पिस्नुपर्थ्यो,’ लीलावतीले सम्झिन् । लीलावती खर्कबहादुरको बाजेको घरमा मकै पिस्न जान्थिन्। त्यहाँ जाँदा खर्कबहादुरसँग आँखा जुध्थ्यो । त्यही चल्थ्यो दोहोरी । लीलावती जाँतो पिस्दै दोहोरी गाउँथिन् । खर्कबहादुर पिँढीमा बसेर गीत गाउँथे । लजाउँदै लीलावतीले सुनाइन्, ‘त्यहीवेला पिरती बस्यो ।’

दुवैमा मायाप्रेम भएपछि गाउँका मेला पूजापाठ हुने रमाइलो कार्यक्रममाझ उनीहरु दुवै पुग्थे । उनीहरु नगएको सत्यनारायण पूजामा गाउँले आउँदैनथे । उनी पुगेको ठाउँमा लिलावती पनि पुग्थिन् । गाउँथिन् ।

गीतविना आफूलाई अधुरो ठान्छ यो जोडी । ५० नाघेका यी बुढाबुढी अझै उही वनपाखाका मौलिक गीत गाउँछन् । राप्ती सेरोफेरो गुञ्जिने लोकभाका खुबै गाए । जब वैवाहिक जीवनमा बाँधिए अनि थुप्रै आरोह अवरोह पार गर्नु प¥यो । त्यसैले खर्कबहादुर वाद्यवादनमा केन्द्रित हुनुपर्‍यो भने लिलावती बालबच्चा हुर्काउन ।

‘मेरो गायनलाई घरधन्दाले पछाडि पार्‍यो,’ लिलावतीले भनिन् । ‘उनको गुनासो भनेकै गायनलाई निरन्तरता दिन नपाएकोप्रति छ,’ खर्कबहादुरले निराश श्रीमतीलाई सान्त्वना दिँदै भने, “एउटाले कमाउने एउटाले घर चलाउने गर्नुपर्दो रहेछ । उनको गायकी पछाडि परेकोमा मलाई पनि नरमाइलो लाग्छ । तर चारजना  छोराछोरी पढाइयो । काठमाडौंमा बस्ने घर बनाइयो । त्यो देखेर खुसी लाग्छ ।’

‘गीत गाउने नाच्नेले के स्वास्नी पाल्ला र भनेर साह्रै डर लाग्थ्यो । तर अहिले राम्रै भएको छ,’ लिलावतीले भनिन्।

‘अहिले पनि हामी दोहोरी गीत बनाउँछौँ। गाउँछौँ। स्टेजमा बोलाइएको छ भने मिलेर तयारी गर्छौँ,’ लिलावतीले भनिन्, ‘तर उहाँले घरमा पहिलेको जस्तो समय दिन सक्नु भएको छैन ।’

‘हे साइँली’ लोकगीतको थेगो हो । सुख–दुःखका गीत होस् कि मायापिरतीका गीत होस् साइँली भेटिन्छन्। सल्यानको गाँउघरदेखि वनपाखामा हे साइँली जनजनको गीतमा बाँचेको बताउँछिन् लीलावती । भन्छिन्, ‘सल्यानका भाका हाम्रो दिलोदिमागमा छ ।’खर्कबहादुर र लीलावती सोरठी, ठाडीभाकामा पनि दोहोरी गाउँछन्। उनीहरू बोल्दा सल्यानको लवज आउँछ । उनीहरू कतिपय शब्द र लय आफैँ संकलन गर्छन्।

खर्कबहादुरसँग मादल बजाउँदाका थुप्रै अनुभवहरू छन्। डेढ दर्जन बढी मादल एकैपटक बजाउन सक्छन् उनी। मादल बजाएर ज्वरो काढे, हात जिउ दुखाए र हातमा ठेला उठाए। ‘मादल बजाउँदा हात तात्छ । कहिलेकाहीँ त ज्वरो नै आउँछ । दिनभरि बजाउँदा कहिलेकाहीँ त छाती दुखेर हैरान हुन्छ,’ उनले हात देखाउँदै भने, ‘तर, कहिलेकाहीँ मादलमा हात नपरेपछि हात चिलाउँछ ।’

मादललाई आफ्नो प्राण ठान्छन् उनी । जसले जीवन चलाउन सघाएको छ त्यो प्राण ठान्नु स्वभाविक पनि हो भन्ने लाग्छ उनलाई ।

दैनिक १० घन्टासम्म मादल बजाउने खर्कलाई अहिले एकछिन फुर्सद छैन । ‘मेरो जिन्दगीमा रहर र पैसा एकै बन्यो,’ हातको मादल सुमसुम्याउँदै भने खर्कले । नाचघरमा मादल सिकाउँछन् र राजधानीका स्टुडियोहरूमा मादल बजाउन पुग्छन् उनी । उनी भन्छन्, ‘संगीत संयोजकहरुले मादलको ठाउँमा ढोलक र ड्रमसेट हालेका दिनताका मैले एक्जिभेटर किनेर काम गरेको थिएँ । पछि लोक गीतले नै बजार तातिन थालेपछि मादल बजाउनेको माग धेरै भयो । अहिले महिनाको दुई लाख सम्म कमाउँछु ।’

गाउँघरमा मादल बजाएर उनको धोको मेटिएन । राप्तीको टप्पा र पैसारुले उनलाई रेडियो नेपाल सम्झाइरह्यो । त्यही लहडमा २०४३ सालतिर रेडियो नेपाल आए । भाग लिए । तेस्रो स्थानमा नाम निकाले । अनि त उनको स्वर पनि रेडियोमा घन्किन थाल्यो ।

२०४५ सालतिर राष्ट्रिय नाचघरले कलाकार खोज्यो । उनी छानिए । एक महिनाका लागि करारमा सात सय रुपैयाँमा उनले जागिर पाए । तर, नाच्न–गाउन धेरै पाएनन्। उनलाई वाद्यवादनमा राखियो । त्यसपछि नाचघरमा पनि मादल उस्ताद भएर झुल्किएका खर्क भन्छन्, ‘नाच्न गाउन आएको थिएँ, तर वाद्यवादक भएँ ।’

मादल नबजाएको दिन कमै हुन्छ उनको । एकसाथ धेरैवटा मादल पनि बजाउँछन् खर्कबहादुर । उनी भन्छन्, ‘मादल नबजाएको दिन के छुटे छुटे जस्तो हुन्छ ।’

खर्कबहादुरलाई मेचीदेखि महाकालीसम्मको भाकामा कस्तो ताल चाहिन्छ, थाहा छ । उनी एउटै मादल अनेक तालले बजाउँछन् । धिमे, खिँ, ढोलक, कोचकीलगायत अन्य मादल राखेर एकैपटक १८ वटा मादल बजाउने खर्क भन्छन्, ‘धेरैवटा मादल बजाउनु मान्छेलाई आकर्षण गर्ने मात्रै हो । तर, ताल एकै हुन्छ ।’

सबै भेगमा बजिने मादलको तालको ज्ञान छ उनलाई । उनी आफूले मादल पढाउन पनि थालेका छन् । भन्छन्, ‘नयाँ पुस्ताका भाइबहिनीहरु मादल बजाउन लालयित छन् । उनीहरुलाई राम्रो शिक्षाको खाँचो छ । स्कुल स्तरबाट मादल बजाउन सिकाउन सकियो भने मादलको संरक्षण पनि हुनेछ ।’

नेपालको सन्दर्भमा अहिले पनि दर्जन मादल लाइभ दोहोरीहरुमा बजाउनु पर्ने भएकाले मादलबादकको माग बढ्दो छ । साथै विदेशतिर नेपाली मादलको पनि माग छ । ‘मादलको माग नेपालमा भन्दा पनि विदेशमा बढेका छ,’ उनले भने ।

खर्कबहादुर अनुभव सुनाउँछन्— ‘२०४४ सालमा रेडियो नेपालमा लाइभ बजाउँथ्यौँ । अहिलेचाहिँ कम्पोज गरेर बजाइन्छ । नोटेसन हेरेर बजाइन्छ ।’ पछिल्ला फिल्ममा लोक मेलोडीको लहर चलेको छ । फिल्ममा मौलिकपन कम हुँदै गइरहेको वेला मादलले मौलिकता जोगाउन भूमिका खेल्ने उनको धारणा छ । भन्छन्, ‘लैजाऊ घुमाउन मलाई ठमेल बजार…’ भन्ने गीतमा मैले नै मादल बजाएँ । गीत मोडर्न हो । तर, मादलले मौलिकता थपेको छ ।’ कतिपय गीत मादलकै कारण हिट भएको तर्क छ उनको । भन्छन्, ‘मादलविना नेपाली गीत नेपालीजस्तो हुँदैन ।’

पुराना संस्कृति धान्ने मौलिक बाजा हो मादल । त्यसैले मादललाई तालिम तथा स्कुल स्तरबाट सिकाइका रूपमा ल्याउनुपर्ने खर्कबहादुरको मत छ । भन्छन्, ‘राज्यले स्कुलस्तरबाटै मादलको प्रशिक्षण र शिक्षा दिनुपर्छ ।’

विस्तृत कुराकानी:

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?