चाकडी र चाप्लुसीमा डुबेको सत्ता र दासिक मानसिकतामा एउटा ‘दबंग’

चाकडी र चाप्लुसीमा डुबेको सत्ता र दासिक मानसिकतामा एउटा ‘दबंग’
+
-

राजनीति आनन्द दिने नीति। राजको अर्थ ‘सुखी’ र नीति त सबैले बुझ्ने नै भए। ग्रीसेली POLITIKA बाट बनेको अंग्रेजी Politics शब्दको अर्थ बहुआयामिक भए पनि सामान्यत: खास समुदायभित्र राष्ट्रिय समूहहरूको वैचारिक संगठन र त्यस संगठनले अंगीकार गरेको शासकीय संरचनालाई नै राजनीतिको अर्थ दिइएको छ। वास्तवमा नगर राज्यको सेरोफेरोमा रहने गरी (शहरको विषयहरूमाथि) कसरी व्यवस्थित गर्ने भन्ने अर्थमा ‘पोलिटिका’ थियो। समयसँगै शब्द, अर्थभाव र प्रत्यय बदलियो। आजको राजनीतिको स्वरूप शासकहरूको सर्वोच्चताबाट आम जनताको सर्वोच्चतातर्फ उन्मुख छ। राजनीतिको यसै मेसोमा मेरो अगाडि एउटा पुस्तक हात परेको छ, ‘सम्झनामा उमाभद्र खनाल।’

राजनीतिको चेतना र चिन्तनमै समर्पित जीवन चरित्रको सांगोपांगो स्मृति समेटिएको आशिषभद्र खनालद्वारा प्रकाशित एवम् डा. जयराज आचार्यद्वारा सम्पादित यो पुस्तक नेपाली राजनीतिको एक अध्यायको रूपमा अध्ययन गर्न सकिन्छ।

यो पुस्तक आत्मकथा होइन तर एक व्यक्तित्वको बहुआयामिक चरित्रको चित्रण अवश्य हो।

आत्मकथापरक थुप्रै कथोपकथनका लेखकहरू ‘आत्मश्लाघा’ बाट उम्कन पाइएको छैन। ती आत्मकथाहरूमा समाजभित्र अस्तित्वको खोज र मानिसले आफूलाई नबिर्सिदिउन् भन्ने लोभ देखिन्छ। तर उमाभद्रको सम्झनामा मानिसका अनुभव र त्यसले उत्पन्न गरेको प्रभाववारे अकिञ्चन तवरले प्रस्तुत भएकाले रमाइलोसँग पढ्न सकिन्छ।

खनालजीसँगको मेरो परिचय पारिवारिक एवं सामाजिक रूपमा प्रगाढ नै रह्यो। उनी नाताले मेरा फूपाज्यू र श्यामकला मेरी दिदी। यो पारिवारिक सम्वन्धको स्नेह स्वभाविक थियो। अर्को मप्रति उनको आकर्षणको कारण थियो- हलो क्रान्तिको दुराडाँडाको सन्दर्भ।

वास्तवमा मेरा पिताजी पं. तोयानाथ अधिकारीले २००६ सालमा दुराडाँडामा ब्राह्मणले हलो जोतेको विषयलाई उमाभद्रजीले तनहुँमा हलो जोतेर जुन सामाजिक हलचल पैदा गरे, त्यो तत्कालीन समाजका लागि अत्यन्त कठिन र जोखिमको काम थियो। म हलोजोत्ने ब्राह्मणको पुत्र भएका नाताले पनि आपसमा भेट हुँदा उनीमा हलोक्रान्तिको स्मृति ताजा हुन्थ्यो। वास्तवमा उनमा परिवर्तनका लागि क्रान्ति चेतनाको भावना र जागरण सदा सर्वदा विद्यमान रहेको म अनुभव गर्छु। राजनीतिक परिवर्तन, क्रान्ति एवं आन्दोलनका लागि नेपाली समाजभित्र धेरै व्यक्तित्वहरू समर्पित भएको पाइएको छ। त्यस्ता व्यक्तित्वहरूमध्ये कोही अति संवेदनशील एवं मनोगत रूपमा एकोहोरिएर लागेको पाइन्छ भने अर्काथरि बौद्धिक चेतनाको लाभहानि विश्लेषणद्वारा लाभको लोभले समर्पित भएको देखिन्छ। खनालजीमा क्रान्ति चेतना यति चर्को पाइन्छ कि उनी भावुक र संवेदनशील त थिए नै, साथसाथ उनी राजनीतिक गन्तव्यको विश्लेषण गर्ने क्षमतासाथ काम गर्थे। राजनीतिक चेतना र समर्पणको मिश्रित व्यक्तित्व जसलाई लाभ-हानीको वास्ता छैन, साध्यको सफलता चाहने निस्पृय कर्मयोगी भन्दा कत्तिपनि अत्युक्ति हुन्न।

राजनीतिक क्रियाकलाप त साधन हो साध्य त आम नेपालीको हित रक्षा गर्नु हो भन्नेमा उनी दृढनिश्चयी थिए।

आजका मानिस प्रश्न गर्ने छन्- यस्तो व्यक्तित्वको धनी किन प्रकाशित भएन? राष्ट्रले किन गुमनाम राख्यो? राजनीतिको उचाइ किन छुन सकेन त? यसको एउटै उत्तर हुन्छ- सत्यप्रतिको उनको निष्ठा। सत्य कुरो बोल्न नडराउने स्पष्ट वक्ता भएकाले ‘एक्लो वृहस्पति झूठो’ को स्थिति भयो। प्रजातन्त्रका लागि जीवन उत्सर्ग गरेकै कारण जुम्ला जेलको कठोरतम् कष्ट सहे तर विचलित भएनन्। जहाँ मुलुकभित्र राजाको हैकम कायम गरियो र जनतालाई रैतीको दर्जा प्राप्त भयो तब उनी रणनीतिक रूपमा जनताको सार्वभौमिकताको आवाज बुलन्द गर्ने प्रच्छन्न उद्देश्यका साथ पञ्च पनि भए। यसमा उनको राजनीतिक विश्लेषण थियो- वहुराष्ट्र, वहुभाषिक, वहुजातीय समाजका लागि दरिलो मियो राजतन्त्र हुन सक्छ तर त्यो अधिनायकवादी हुनुहुन्न। मानवअधिकारको रक्षक-कल्याणकारी हुनुपर्छ। यस उद्देश्यका लागि उनी सदासर्वदा जनताका पक्षमा सही कुरा व्यक्त गर्थे। बिना मोलाहिजा आफ्ना भावना व्यक्त गर्थे। उनीमा परिवार चलाउने लालसा थिएन अपितु जनताका खुसहालीका लागि काम हुनुपर्छ भन्ने मान्यताका आधारमा आफ्नो स्वर दिन्थे। यसबाट के भयो भने चाकडी र चाप्लुसीमा डुबेको सत्ता र दासिक मानसिकताभित्र उनलाई ‘दबंग’ को दर्जामा राखियो। अवसरबाट बञ्चित गरियो, उनको आवाज सुनिएन। उमाभद्रलाई जे गरियो त्यो संस्कार आज पनि कायम छ। सत्य बोल्ने र इमान्दार बौद्धिक समाज सत्ताधारीहरूको कोपभाजनबाट मुक्त छैन। सही मानिस सही स्थानको पहिचान नगर्दाको राजनीतिक एवं प्रशासनिक बेहाल त सबैका सामु छर्लङ्ग छ।

खाऊँखाऊँ-लाउँलाउँ उमेरको यौटा युवक कसरी सयौँ वर्षदेखि शासनमा जरा गाडेर बसेको राणातन्त्र विरूद्ध नागरिक अधिकार र प्रजातन्त्रको संघर्षमा होमिन्छ, उसमा युवक जोस मात्र छैन अपितु समाजलाई संगठित गर्ने र गन्तव्यमा हिँडाउने नेतृत्वशक्तिको होस पनि छ। धरातलीय यथार्थ जस्तोसुकै होस्- विपरित धारमा पनि पौड्न सक्ने स्थापित व्यक्तित्व हो- खनालको स्वभाव। आफ्नो ब्रम्हले देखेको सत्य बोल्न कत्ति पनि नहिच्किचाउने र स्वार्थहीन तवरले काममा दत्तचित्त हुने जीवनशैलीको परिचायक हो उमाभद्रको स्मरण।

आध्यात्मिक चेतका धनी पुरूष हुन् उनी। नेपालको राष्ट्रियता, स्वाभिमान एवं जनताको भलोको राजनीतिक पद्धतिका पक्षधर हुन्। आयु जतिसुकै होस् मानव जीवनको सार्थकता नै जनताको सेवा हो भन्ने मान्यताका धनी देखिन्छन् खनाल। त्यसो नहुँदो हो त शिक्षाको विकासमा मरिमेटेर लाग्ने थिएनन्। किसान आन्दोलन चलाउने थिएनन्। कूत र वेथवेगारीका विरूद्धमा सशक्त आवाज उठाउने आँट गर्ने थिएनन्। ०७ सालको जनक्रान्तिमा होमिने थिएनन्। भिन्न व्यक्तित्वहरूको स्मृतिका पानाहरू पल्टाउदै जाँदा खनालको अन्तरमन राजनीतिक, सामाजिक एवं आध्यात्मिक चेतमा चुर्लुम्म डुवेको अनुभव हुन्छ। उनको जन्मथलो तनहूँ र चुँदीखोलाका फाँटका आलीहरूबाट धेरै पानी बगिसक्दा पनि उमाभद्रले पुर्‍याएको योगदान तथा त्यसबाट सामाजिक परिवर्तनमा देखिएको नयाँ आयाम अहिले पनि महसुस गर्न सकिन्छ। यो चानचुने जीवन चरित्र कदापि होइन-बेजोडको कथा हो।

खनाललाई दुइटा पाटाबाट हेर्नुपर्छ। प्रथमत: उनी निडर छन्। डर, भय, लोभ, लालच, इर्ष्या र घृणाबाट मुक्त हुनु चानचुने कुरा होइन। त्रास र आशले उनले कहिल्यै काम गरेनन्। दोस्रो हो उनको निश्छलता, सानो-ठूलो, मेरो-तेरोको भेद नराखी आफ्ना मनका कुरा भनिहाल्ने। राजनीतिक नेताहरू तथा दरवारियाहरू उनको कुरा गराइ र सत्य बोल्ने स्वभावबाट कायल थिए।

मानिसको जीवनमा आरोह-अवरोहको कथा अलगअलग नै हुन्छ। तृष्णा-वितृष्णा समयले उत्पन्न गर्ने अवस्था हो। श्मशान वैराग्य भयो भने मानिस आत्महत्या त गर्दैन नि ! यस्तै छ खनालको जीवन गाथा। आफ्नो आस्था, विश्वास र भरोसामाथि वज्रपात हुँदा पनि उत्साह र सकारात्मक सोचमा कमी देखिएन। त्यसको उदाहरण हो राजाबाट प्रताडित भएपनि राजाको अनिवार्यता महसुस गर्दै जनताका पक्षमा वकालत गर्नु। जीवनलाई सहज रूपमा पार लगाउनु अत्यन्त कठिन काम हो तर खनालले आफूलाई सदा सहज बनाइराखे। अभाव र दुर्दिनलाई जीवन चक्र माने- रातपछि सूर्योदय हुन्छ भन्ने मान्यतामा दृढ रहनु पनि उनमा रहेको आध्यात्मिक चेतनाको भावभूमि हो। राजनीतिमा आएका धेरै मानिस नैतिक रूपले पतन भएको पाइएको छ। तर खनाल विरल कोटीका देखिन्छन्, निष्कलंक र दृढ निश्चयी पुरूष। यस्ता पुरूषहरू समाजका लागि आदर्श र मार्गदर्शक हुन्छन्। मानव स्वभाव विचित्रको हुन्छ, सही कुरालाई सही हो भन्ने आँट गर्दैन र “महाजन येनगत स पन्था” भनेर भीड जता लाग्छ त्यतै लाग्छ। खनाल भीडभन्दा अलग थिए- आफ्नै सोच र व्यक्तित्वमा अडिग। तर सत्य त सत्य नै हो त्यो अविनाशी मानिन्छ- त्यही कारण हो कि तनहुँको समाज अलग किसिमको राजनीतिक विचारधाराबाट अभिप्रेरित भएपनि उमाभद्रलाई बिर्सन सक्तैन। मानिसले एकपटक विशिष्ठताका साथ विशेष काम गर्छ- त्यो नै समाजको उपलव्धि र निधिका रूपमा स्थापित हुन्छ भन्ने विर्सन हुन्न।

खनालको जीवन, उनको देन र उनको मानवीय स्वभावका विषयमा स्मृतिग्रन्थका लेखक स्मृतिकारहरूले यथेष्ठ बोलेका छन्। यसबाट मनुष्य जाति “गुनको वैरी” छैन, गुनको कदर गर्न कञ्जुस्याइँ गर्नु पनि छैन भन्ने देखिन्छ। मेरो अनुभवमा खनाललाई दुइटा पाटाबाट हेर्नुपर्छ। प्रथमत: उनी निडर छन्। डर, भय, लोभ, लालच, इर्ष्या र घृणाबाट मुक्त हुनु चानचुने कुरा होइन। त्रास र आशले उनले कहिल्यै काम गरेनन्। दोस्रो हो उनको निश्छलता, सानो-ठूलो, मेरो-तेरोको भेद नराखी आफ्ना मनका कुरा भनिहाल्ने। राजनीतिक नेताहरू तथा दरवारियाहरू उनको कुरा गराइ र सत्य बोल्ने स्वभावबाट कायल थिए। गलतलाई गलत र सत्यलाई सही भन्न पनि नापतौल गर्ने सामाजिक संरचनाभित्र खनालको स्थान अलग थियो। ‘वचनम् किं दरिद्रता’ भनेर चापलुसको भाषा बोल्ने मान्छे थिएनन् खनाल।

यसैले मलाई लागेको मेरो अनुभवको सारमा यत्ति भन्न सक्छु- यौटा अलग खालको सोच, मान्यता र विश्वास लिएको मानिस साधारण हुन सक्तैन। त्यागका लागि आँट चाहिन्छ, आँटिला थिए जसको कारण उनले तनहुँको ब्राह्मण समाजलाई हाँक दिदै हलो जोतेर देखाए। उनमा लप्पन छप्पन थिएन-ह्रदयदेखि खुल्ला किताब थिए निश्छल व्यक्तित्व। भयरहित जीवन आदर्श जीवन हो जो उनले बाँचे। जो कोही त्यो निडरता पाउन सक्तैन। यस्ता खाले र स्वभावका मानिस विरलै जन्मन्छन् र अद्वितिय तवरले स्मृतिका पानामा अक्षर वनेर जीवन्त रहन्छन्। उनले भौतिक शरीर त्यागेका छन्-उनको कृति अमर बनेर बसेको छ। किं अधिकम्-सूर्यलाई दियो भावना हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?