
नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटनको बहुप्रतिक्षित खेल शनिबार सम्पन्न भयो। प्रतियोगिता सुरु हुनुअघि नेपाल क्रिकेट संघले आफ्नो दायित्वलाई ठूलो ‘प्रचार’ का साथ ‘फाइनल डेज’ अर्थात प्रतियोगिताको उद्घाटनको दिनसम्म ल्यायो।
क्यानले स्वभाविक रुपमा सबै हिसाबले ठूलो प्रतियोगिता पहिलो पटक आयोजना गर्दैगर्दा उसले गर्ने कार्यक्रमको भव्य ओपनिङ अपेक्षित थियो। विगत ३ महिनायता कुनै न कुनै गतिविधिले एनपिएल सधैँ नेपाली समाज र मिडियामा बहुचर्चित रह्यो।
टिम घोषणादेखि खेलाडी अक्सन हुँदै प्रायोजन र सहप्रायोजनमा ऐतिहासिक उपलब्धिले नेपाल प्रिमियर लिगलाई मात्र होइन, नेपाली क्रकेटको विकासमै अर्को अध्यायमा पुर्याउने विश्वास जगायो। हरेक क्षेत्रमा निरास बन्दै गएको नेपाली समाज कहिलेकाहीँ खेलकुदले दिलाउने यिनै सफलतामा आफ्नो अनुहारमा हाँसो ल्याउने गर्छन् भने एकताबद्ध समर्थन यही क्षेत्रले दिलाउने गरेको छ।
क्रिकेटको लोभलाग्दो अवसरलाई यो पटक क्यानले क्यास गर्ने प्रयास गर्यो। परिणामतः क्यानको योजनाअनुसार ‘खुम्चँदो’ अर्थतन्त्रका बीच टिमहरुले सक्दो र खुलेर लगानी गरेका छन्। साथमा एनपिएलले राम्रो लगानी जुटाउन सफल भयो। ऐतिहासिक रुपमा आजको दिन नेपाली क्रिकेटका लागि एउटा ‘कोसेढुङ्गा’ को रुपमा स्थापित रहने छ। तर, उद्घाटनमा व्यवस्थापन कमजोर हुँदा उपलब्धिबीच पनि ‘निराशापूर्ण’ सुरुवातका रुपमा रह्यो।
ऐतिहासिक दिनमा चुकेको विराटनगर
उद्घाटन खेलको अवसर पाएको कोशीको एक मात्र फ्रेन्चाइज क्लब विराटनगरले अपेक्षित चुनौती दिन सकेन। टी-२० क्रिकेटमा हार–जित भन्दा पनि प्रतिस्पर्धात्मक खेलले रोमाञ्चक्ता र सहानुभूति प्राप्त हुने गर्छ। राम्रो स्कोर र खेलाडीले मैदानमा गर्ने मिहिनेतले हारका बाबजुत पनि कतिपय टिमले दर्शकको गतिलो साथ र समर्थन पाउँछन्। अझ टी-२० क्रिकेटमा एक बलले नै खेल परिवर्तनको क्षमता राख्छ। यस्तोमा विराटनगरले जनकपुरविरुद्ध कुनै पनि समय खेलमा आफूलाई राखेन।
पूर्ण रुपमा विदेशी खेलाडीको भरमा देखिएको विराटनगरले प्रदर्शनमा पनि त्यसलाई झल्को दियो। ओपनरका रुपमा लोकेश बमसँगै किवी टोलीका स्टार मार्टिन गुप्टिललाई ओपनिङमा पठाएको विराटनगरले सुरुवातमै नेपाली खेलाडी लोकेशलाई ५ रनमै गुमायो। त्यसपछि लगातार विदेशी खेलाडीमाथि नै विश्वास गर्यो।
अकिब इलियस, निकोलस किर्टनलाई मैदान पठायो तर उनीहरुले विराटनगरलाई खेलमा फर्काउने गरी प्रदर्शन गर्न सकेनन्। गुप्टिलले एकछेउबाट इनिङ सम्हाल्दै ५५ रनको स्कोर त बनाए तर अर्को तर्फबाट गतिलो साथ पाएनन्। गुप्टिल नै १२ औँ ओभरको अन्तिम बलमा आउट भएपछि त विराटनगर ‘कोल्याप्स’ नै भयो।
घरेलु खेलाडीलाई लिन नसकेर अक्सनमै आलोचित बनेको विराटनगरले कुनै समय नेपाली टोलीमा रहेका तर अहिले विदेशलाई कर्मथलो बनाएका खेलाडीसँग अपेक्षा गर्यो। अक्सनमा आफ्नै प्रदेशका ललित राजवंशीलाई टिममा पार्न नसकेको विराटनगरविरुद्ध उनले पहिलो बलमै विकेट लिए। उनले समग्रमा ३ विकेट लिँदै विराटनगरलाई कमजोर योगफलमा सीमित गर्न अह्म भूमिका खेले अर्थात ‘आफ्नै’ ललित विराटनगरका लागि ‘टर्निङ प्वाइन्ट’ बने र टोली स्तब्ध बन्यो। अक्सनका दौरान उनको अधिकतम मूल्य १५ लाखमा ६ टोलीले बोली लगाउँदा गोला प्रथामा जनकपुर भाग्यमानी बनेको थियो।
त्यसो त केही अन्य स्वदेशी खेलाडीलाई पनि टिममा भित्र्याउन नसकेको विराटनगरले विदेशमा रहेका नेपाली खेलाडीसँग अपेक्षा गरेको थियो तर उनीहरु चलेनन्। अर्थात्, राजेश पुलामी, अनिल खरेल, जितेन्द्र मुखियाजस्ता अपेक्षा गरिएका खेलाडी चुक्न पुगे। जो आफ्नो भविष्यलाई हेरेर अस्ट्रेलिया गएका छन्, उनीहरुलाई फर्काएर पुनः टिममा समावेश गर्दा त्यसले राम्रो नतिजा दिएन।
कम्तिमा यसअघिको अभ्यास खेलको हार र ओपनिङ खेलको हारबाट यो टोलीलाई ‘सुपर ४’ को लक्ष्य निकै टाढा देखिन्छ। यदि कुनै चमत्कारिक तरिकाले कसैले खेल जिताएमा यसको अर्थ टिमभन्दा पनि कोही ‘इन्डिभिजुअल’ खेलाडी चलेमा मात्र विराटनगरको आशा बाँकी रहन्छ अन्यथा अंकतालिकामा पुछारतिरैका लागि प्रतिस्पर्धा हुने पक्का छ।
मैदान बाहिर पनि कमजोर विराटनगर
त्यसो त मैदानभित्र मात्र होइन, दर्शकले भरिएको टियू मैदानमा विराटनगरले पर्याप्त साथ पाएन। सन्दीप लामिछानेको आफ्नो प्रोफाइलले उनको समर्थन गर्ने दर्शक देखिए पनि टिमको हिसाबले विराटनगरलाई जनकपुर बोल्ट्सले मैदानबाहिर पनि पछि पार्यो।
जनकपुरको समर्थनमा प्लेकार्ड लिएका समर्थकको हुटिङले गुन्जायमान बनेको टियूमा विराटनगर कुनै पनि बेला खेलमा फर्कन सकेन। अझ बलिङको समयमा त विराटनगर सुरुवाती दुई ओभरपछि निष्प्रभावी बन्यो। जसले गर्दा सीमित दर्शकले पनि हुटिङ गर्ने साहस गरेनन्।
जितले उत्साही जनकपुर
विराटनगरविरुद्ध सहज जितपछि स्वभाविक रुपमा जनकपुर बोल्ट्स उत्साही बन्यो। पहिलो खेलको जितले स्वाभाविक रुपमा खेलाडीको मनोविज्ञानमा बाँकी खेलका लागि उत्साह, आँट र एकतामा उल्लेख्य भूमिका खेल्छ। खेलपछि त्यस्तै सुनिए जनकपुरका कप्तान अनिल साह। उनले खेलको महत्व र जितले निकै खुसी बनाएको बताए। साथै उनले जित्नका लागि गरेको आफ्नो तयारीले सफलता पाएको बताए।
नेपाली टोलीका पूर्व प्रशिक्षक पुबुदुले पहिलो खेलमा सफलता पाए। बाँकी खेलका लागि समेत उनीहरुले केही मात्रामा बाटो बनाए। इन्डिभिजुअलतर्फ प्राप्त गर्ने सबै पुरस्कार जितेको जनकपुरले विदेशी खेलाडीको साथ पनि अपेक्षित पाएको छ। यद्यपि, उसका अघिल्लो यात्रा बाँकी खेलले तय गर्ने नै छ। तर, ‘मर्निङ सोज द डेज’ को उपमाको हकदार जनकपुर देखियो नै।
टिकट किनेर लाठी खाएका दर्शक
नेपाल प्रिमियर लिगलाई सबैभन्दा धेरै माया कसैले गरेको छ भने त्यो नेपाली दर्शकहरुले गरेका छन्। एउटा घरेलु प्रतियोगिता हेर्नका लागि तीन दिनअघि नै टिकट ‘सोल्ड आउट’ हुनुले यो प्रतियोगितालाई दर्शकले कुन रुपमा लिएका थिए भनेर स्पष्ट हुन्छ।
टिकट ‘सोल्ड आउट’ भएको जानकारी दिएको क्यानले टिकट बेच्ने जिम्मा पाएको कम्पनीलाई कति टिकट बेच्यौ भनेर सायदै सोध्यो। जसले गर्दा आवश्यकभन्दा धेरै टिकट बिक्री हुँदा शनिबार मैदान प्रवेशमा घम्साघम्सी मात्र भएन, कतिपय दर्शकले टाउकोमा पुलिसको लाठीसमेत खानु पर्यो। केही दर्शक घाइते बने।
अनलाइन टिकेट काटेर आएका दर्शकहरुलाई सहज र सुलभ रुपमा मैदान प्रवेशको अवस्था बनेन। भित्र दर्शकको अत्याधिक चाप भएपछि पैसा तिरेर खेल हेर्न नपाएका दर्शकले बाहिर स्वभाविक रुमपा हुलहुज्जत गरे। गेट तोडफोडको प्रयास नै भयो। अन्तमा प्रहरीले लाठी चार्ज नै गर्यो। नेपाली क्रिकेटलाई माया गर्ने समर्थकले पैसा खर्च गरेर पुलिसको लाठी खाए। अन्त्यमा भित्र छिर्न नपाएका दर्शकको पैसा ‘रिफन्ड’को वाचा त सम्बन्धित कम्पनीले गर्यो तर समर्थकको उत्साह भने मुर्झाउन पुग्यो।
स्टार स्पोर्ट्स र नेपाली टेलिभिजन
पहिलो पटक नेपाली खेलकुदको ठूलो इभेन्ट विश्वको सर्वाधिक लोकप्रिय खेलकुद च्यानल ‘स्टार स्पोर्ट्स’ ले लाइभ गर्यो। तर, नेपाली सञ्चारमाध्यमले आफ्नै देशको ठूलो खेलकुद इभेन्टको प्रत्यक्ष प्रसारणको अधिकार राख्थे। क्यान स्रोतले नेपाली टेलिभिजनहरुको चाहनाका बाबजुत विदेशी च्यानललाई दिएको बतायो। दूरदराजमा नेपाली टेलिभिजन हेर्ने किशोर किशोरी र क्रिकेटमा चासो राख्ने र नराख्ने जमातसम्म नेपाली टेलिभिजनको पहुँच छ। यस्तोमा सबैले क्रिकेट हेर्न कति सक्षम भए यो पनि अर्को पाटोको रुपमा रह्यो।
यद्यपि, युट्युबमार्फत क्यानले डिक्स मिडिया नेटवर्कलाई देखाउन दिएर सामाजिक रुपमा हुन सक्ने आलोचनालाई टार्न सफल भयो। युट्युबमा राम्रो क्वालिटीमा हेर्न पाएको भनेर कम्तिमा प्रशंसा नै पायो। तर, भुइँमान्छेहरुले नेपाली टेलिभिजनबाटै हर्न पाउने चाहना भने कम्तिमा यो पटक पूरा भएन।