कुनै समय नेपाली चलचित्र जगतमा ‘एक्सन हिरो’को रूपमा परिचित थिए अभिनेता निखिल उप्रेती। कहिले सात तलाबाट हाम फाले त, कहिले झोलुङ्गे पुलको रस्सीमा हिँडे। स्टण्टका लागि कहिल्यै पछि हटेनन्। उनी अभिनित एक्सन प्रधान चलचित्र दर्शकले रुचाए पनि। चलचित्र निर्माण, निर्देशन र अभिनयबाट टाढा नभए पनि उनी यतिखेर अध्यात्ममा केन्द्रित छन्। देशसञ्चार चौतारीमा उनले आफ्नो अभिनय र अध्यात्म यात्राको अनुभव साटेका छन्।
अभिनेता मात्रै नभएर निखिल एक स्टण्टम्यान पनि हुन्। अहिले त उनी चलचित्रभन्दा बढी ध्यानका कुरा गर्छन् । ‘म त आफूलाई चिन्ने कोसिस गर्दैछु । पहिलो चलचित्र पिँजडामा सात तलेबाट हाम फालेँ । पपुलर बनाइदिए । अब मेरो के लाग्छ र त्यतिखेर मैले आफूलाई चिनेकै रहेनछु । मैले सामान्य काम गरेको रहेछ,’ उनले देशसञ्चार चौतारीका क्रममा भने।
जीवन बाँच्ने क्रमको अनुभवले धेरै कुरा सिकाउँछ भन्छन्। निखिलका लागि पनि यस्तै भइदियो। जुन कामले उनलाई चिनाएको थियो त्यतिले उनी खुसी हुन सकेनन्। त्यतिमै उनको चित्त बुझेन। उनले आफूलाई खोज्न थाले। आफूलाई चिन्न खोजे। उनी भन्छन्, ‘हिजो मलाई चिन्ने या नचिन्ने महिला पुरुषहरुले मन पराइदिन थाले पछि हिट भएँ । तर मेरो प्रश्न किन चिनिएँ भन्ने हो ।’
हिडिँरहेको बाटोभन्दा फरक थियो अध्यात्म यात्रा। जीवनमा ध्यान आम कुरा होइन तर निखिलले आफूलाई चिन्ने ध्यानमा लागे।
आफूलाई चिन्न पर्ने यात्रा किन आवश्यक छ ?
‘जीवनमा कतिपय काम राम्रो पनि गरियो कतिपय नराम्रो पनि । गलत पनि गरियो सही पनि । झट्ट हेर्दा अरुलाई प्रभाव पारिएको छ जस्तो लागे पनि पहिला आफूलाई नै बढी प्रभाव पर्छ । त्यो मूर्खतापूर्ण कामले पहिला आफूलाई नै असर गर्ने हो,’ उनले भने, ‘त्यो मुर्खाइपूर्ण कामको नतिजाबाट नै निखिल उप्रेती चिनियो । मलाई लागिरहेको के थियो भने म हिरो हुन जन्मिएको होइन त्यो बडो सानो काम हो ।’
यात्रामा निस्किएपछि कहीँ न कहीँ पुगिन्छ । तर कोही गन्तव्य तय गरेर हिँड्छन् कोही गन्तव्यबिहिन यात्रामा निस्किन्छन् । तर निखिलले यो यात्रामा प्रश्न चिन्न सकेको स्वीकार्छन् । भन्छन्, ‘यहाँ बडो मुस्किल के छ भने चिन्ने कोसिस गर्ने को हो ? जस्तै गीतामा कृष्णले भनेको छन्— अति सुक्ष्म नै अति विशाल हुन्छ । कति स्मार्ट तरिकाले भनिदिएका छन् । हामी आफूलाई चिन्न नसक्नेहरु अरुलाई चिन्छु भन्दै हिँड्नेहरु छन् । यो पनि मेरो प्रश्न हो ।’
सयभन्दा बढी नेपाली चलचित्रमा नायकको भूमिका गरेका निखिलको फिल्मी यात्रा भने बलिउडबाट जोडिन्छ । सर्लाही जिल्ला गाउँमा भैसी चराएर हुर्किएका निखिल बाल्यकालमा आफ्नै खेतको आलीबाट उल्टो सुल्टो जिम्न्यास्टिक हान्थे। सानैदेखि जेकी चेन र ब्रुसली बन्न खोज्थे। उनलाई “एक्सन” मन पर्थ्यो। अनि उनी पढाइसँगै केही सपना बोकेर काठमाडौं आए । काठमाडौंबाट सिधै बलिउड हानिए । भन्छन्, ‘बलिउड र दक्षिण भारतको चलचित्रमा मैले निर्देशकको असिस्टेन्ट भएर काम गरेँ । नेपाल आएँ । नेपालमा हिरो बनाइदिए । चले पनि । अनि पछाडि फर्किन सकिनँ ।’
नयाँ फिल्मको तयारीमा लागेको निखिलका अनुभवमा पहिला पहिला उनको द्वन्द्वमा कथा हालिन्थ्यो । उनी भन्छन्, ‘अहिले द्वन्द्व बेसमा आधारित कथा छ । उहिले मेरो द्वन्द्वमा कथा हालिन्थ्यो । अहिले कथामा द्वन्द्व हाल्नुपर्छ।’
कुनै समय उनले सुपर हिरो फिल्म बनाउने सोचमा थिए । उसो त उनी कृष्णलाई पनि सुपर हिरो मान्छन् । र पनि उनको सुपर हिरो इन्नोसेन्ट हुने बताउँछन् उनी, ‘मेरो सुपर हिरो बडो इन्नोसेन्ट हुनेछ। उसले समाजकै कथा भन्ने छ। उसमा सुपर पावर त आयो तर उसमा मुद्दा नै छैन भन्दा हुन्छ । ठ्याक्कै म जस्तै ।’
२०८१ सालमा नेपाली फिल्मले बक्स अफिसमा धमाल नै मच्चायो। ‘पूर्णबहादुरको सारङ्गी’, ‘१२ गाउँ’, ‘छक्का पन्जा- ५’ जस्ता फिल्मले अर्बको व्यापार गर्यो। कमेडी, सोसल ड्रामा र एक्सन तीन जनराका फिल्म चले । तर निखिल फिल्मको व्यापार भए पनि चलचित्र बलियो हुन नसकेको बताउँछन्, ‘नेपाली फिल्म अझै राम्रो बन्न सकेको छैन । अझै एक्सनमा हामी काम गर्न सकेका छैनौं । आँसु कहिले सम्म बेच्ने? रोनाधोना मात्रै चलचित्र होइन ।’
हुन त सिनेमा व्यापार हो कलाको। तर उनका अनुसार नेपाली सिनेमा व्यापार नभएर सिर्फ खर्चपानी चलाउने माध्यम बनाइरहेकाहरुले सीमापारीका चलचित्रको कपी गर्ने गरेका छन् । उनी भन्छन्, ‘जति परिवर्तनका कुरा पनि कसैले सुन्दैनन् । नेपाली सिनेमामा परिवर्तनको खोजी गर्ने उत्साह मरेको थियो । अहिले कम्तीमा म आफूलाई चिन्ने कोसिस त गरेको छु । यो खोजी गर्न सिकाएको पनि चलचित्रले नै हो ।’
उनको अनुसार सबै जनराको फिल्म चल्नुपर्छ । सबै खालको फिल्मले व्यवसायिक सफलता पाउनु पर्छ नत्र गोदाममा राखेको एकै खालको आलुजस्तो हुने छ। चलचित्र मात्रै नभएर मेकरहरुमा ज्ञान पनि हुनु पर्ने मत राख्छन् उनी, ‘ज्ञानको खोजी हुनुपर्छ भन्ने हो । व्यक्तिहरुमा ज्ञानको लागि प्यासन छैन नि अनि ज्ञान बिकाउको चिज हुन्छ ।’
कबिर साहित्यमा गहिरो लगाव राख्ने निखिल कृष्णको उदाहारण दिन रुचाउँछन् । बाल्यकालमा आफूभित्रको डर हटाउने उनले एक्सन रोजेका थिए । डर हटाउनकै लागि फाइट सिकेका थिए । डर हटाउनकै लागि स्टण्ट गरेका थिए । उनी भन्छन्, ‘मैले आफूभित्रको डर हटाउनकै लागि एक्सन रोजेको हुँ । स्टण्ट रोजेको हुँ ।’
‘हामी एक्लै बस्न सक्दैनौँ, किन कि हाम्रो जीवन अर्को व्यक्तिसँग सरोकार राख्दछ । अनि एक्लो कहाँ बस्न सकिन्छ?,’ उनले भने, ‘हामी पूर्ण छैनौ तर हर घटना जतिखेर घट्दछ त्यो नै आफ्नो घटना हो।’
कुराकानीकै क्रममा उनले बम्बै सम्झिए । बम्बैमा आफूसँग काम गर्नेहरु बिएमडब्लु कार चढेर आइरहँदा उनले उल्टो प्रश्न गर्थे— तिमीहरुले भैंसी चढेका छौ?
अभिनेता निखिल उप्रेतीसँग गरिएको देशसञ्चार चौतारीको पूरा भाग: