
काठमाडौँ – महिला स्वास्थ्य स्वयंसेविकाहरुले सरकारले स्वास्थ्य स्वयंसेविकाहरुको कामको मूल्यांकन गर्न नसकेको गुनासो गरेका छन्।
बिहीबार ललितपुरमा २१ औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसका अवसरमा आयोजित कार्यक्रममा महिला स्वयंसेविकाहरुले यस्तो गुनासो गरेका हुन्। उनीहरुले महिला स्वयंसेविकाहरु जुनसुकै ठाउँमा हिँड्नलाई तयार रहेको भए पनि सरकारले कामको मूल्यांकन गर्न नसकेको गुनासो गरे।
उनीहरुले आफूहरुको कामको बारेमा सरकारलाई पटक पटक ध्यानाकर्षण गराए पनि अहिलेसम्मका सरकारले चासो नदिएको महिला स्वास्थ्य स्वयंसेविकाहरुको छाता संस्थाकी अध्यक्ष वसन्ती महर्जनले बताइन्। महिला स्वयंसेविकाहरुले गरेको कामको मूल्यांकन हुनुपर्ने उनको भनाइ थियो।
उनले भनिन्, ‘जुनसुकै ठाउँमा हिँड्नलाई महिला स्वयंसेविकाहरु तयार छौँ। तयार हुँदाहुँदै पनि हामीले काम गरेको अहिलेसम्म मूल्यांकन छैन। हामीले नेपाल सरकारलाई पटक पटक ध्यानाकर्षण गराएका छौँ। तर अहिलेसम्म ध्यान आकर्षण हुन सकेको छैन। हामीले गरेका कामहरु स्वास्थ्यको मुख्य आधार हो। काम जुनसुकै काम गर्न तयार छौँ तर काम गरिसकेपछि त्यसको मूल्यांकन हुनुपर्छ।’
कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले महिला स्वास्थ्य स्वयंसेविकाहरुको उचित व्यवस्थापन सरकारले गर्नुपर्ने बताए।
उनले महिला स्वयंसेविकाहरुलाई अपग्रेड गरेर प्रणालीमा ल्याउनसके आगामी दिनमा राम्रो हुने बताए। उनले कुन उमेरका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई अपग्रेड गर्ने भन्नेबारेमा सरकारले छलफल गरिरहेको उल्लेख गरे।
कार्यक्रममा बोल्दै स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. विकास देवकोटाले स्वास्थ्य स्वयंसेविकाले व्यक्तिलाई मात्रै नभई परिवार, समाज र देशलाई नै स्वस्थ बनाउने बताए।