
काठमाडौं- नेपाल प्रिमियर लिग (एनपिएल)को आफ्नो तेस्रो खेलमा कर्णालीले पहिलो जित हासिल गरेको छ।
१ सय ३१ रनको सामान्य स्कोर पछ्याएको कर्णालीले अन्तिम बल बाँकी हुँदा संघर्षपूर्ण रुपमा ६ विकेटको जित निकाल्यो। जारी प्रतियोगितामा कर्णालीको यो पहिलो जित हो भने चितवनको पहिलो हार हो।
कर्णालीले सुरुवातबाटै धिमा गतिमा रन बनाउँदा अन्तिमसम्म खेल पुगेको थियो। अन्तिम १२ बलमा ११ रन चाहिएको अवस्थामा १९ औँ ओभरमा तनविरले २ रनमात्रै दिँदा कर्णाली संकटमा धकेलिएको थियो। तर अन्तिम ओभरमा ९ रन जोड्दा कर्णालीले जित हासिल गर्यो।
कर्णालीका लागि शिखर धवनले ४५ रन बनाएर आउट भएका थिए। उनले ४१ बल खेल्दै ४ चौका र १ छक्का प्रहार गरे। धवनलाई जन निकोल लोफ्टाइ-एटनले ‘कट एण्ड बोल्ड’ गरेका थिए। त्यसअघि देव खनाल ३४ बलमा २५ रन बनाएका थिए। उनले अर्का ओपनर शिखर धवनसँग पहिलो विकेटका लागि ५३ रनको साझेदारी गरे।
खनाल आउट भएपछि क्रिजमा आएका चाडविक वाल्टनले १९ बलमा ३० रनको इनिङ खेल्दा कर्णालीलाई केहीँ राहत भएको थियो। उनी बाहेक जेसन मक्सुदले १२ रन र अर्जुन घर्तीले ११ रन बनाए। कर्णालीले अन्तिम बल बाँकी हुँदा ४ विकेट गुमाएर १ सय ३२ रन बनाएको थियो। अन्तिम बलअघि मक्सुदले चौका प्रहार गर्दै टिमको जित निश्चित गरेका थिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवन २० ओभरमा ७ विकेट गुमाएर १ सय ३० रनको स्कोर तयार गरेको थियो। उसका लागि रवि बोपराले लगातार दोस्रो खेलमा अर्धशतक प्रहार गरे। उनले ४० बलमा ५९ रन बनाएर अविजित रहे। त्यस्तै कप्तान कुशल मल्लले २३ रन बनाउँदा थप दोहोरो स्कोरका रुपमा विपिन रावतको ११ रन रह्यो। अन्य कुनैपनि खेलाडीले दोहोरो स्कोरमा रन बनाउन सकेनन्।
मध्यम स्कोरमा समेट्ने क्रममा कर्णालीका शर्माले ३ विकेट लिँदा जेसन मक्सुदले २ तथा सोमपाल कामी र नन्दन यादवले १-१ विकेट लिए।