
झापा- प्रधानमन्त्री केपी शर्मा ओलीलाई गृहनगर दमकमा कालो झण्डा देखाउने ११ जना पहिचानवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
दमक नगरपालिका–३ मा डेढ अर्बभन्दा बढीको लागतमा बनेको भ्युटावर (बिजनेस कम्प्लेक्स) उद्घाटन गर्न जाँदै गर्दा आइतबार दिउँसो दमक चौकको आकाशे पुलनजिक पहिचानवादीहरुले ओलीलाई कालो झण्डा देखाउनुका साथै चर्को नारावाजी गरेका थिए ।
त्यसक्रममा प्रहरीले ११ जना पहिचानवादीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा एल पी पालुङवा, केदार धिमाल, मातृका धिमाल, गंगा राई शेर्मा, बिक्रम वनेम राई, याम लोरिङ्देनलगायत रहेका छन् । उनीहरुलाई इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ ।
आइतबार बिहान ओलीलाई मेचीनगरमा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरूले कालो झण्डा देखाएका थिए । मेचीनगर नगरपालिका–४ स्थित मानव सेवा आश्रममा भवनको शिलान्यास तथा उद्घाटन गर्न कार्यक्रमस्थलतर्फ जाने क्रममा प्रधानमन्त्री ओलीविरुद्ध उनीहरूले नाराजुलुश गरेका थिए ।
सोही क्रममा प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा रास्वपाका क्षेत्र नम्बर ४ का सभापति शम्भु सुस्केरा रहेका छन् ।
गृहजिल्लामै ओलीलाई सुरक्षा चुनौती भएपछि व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रधानमन्त्रीको सुरक्षाका लागि सशस्त्र प्रहरी, नेपाल प्रहरी, ट्राफिक प्रहरी, नेपाली सेना, राष्ट्रिय अनुसन्धानका गरी १३ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको जनाइएको छ ।