‘म मौनतामा अल्झिरहेको एउटा जीवन…’
यो गीत नसुन्ने सायदै होलान्। तीसको दशकमा निकै सुनिएको यस गीतका गायक हुन ओमविक्रम विष्ट। गिटार सिक्न चाहने हरेक नयाँ पुस्ताले यो गीत गुनगनाएका होलान्। नेपाली पप संगीतमा छुट्टै स्थान बनाएका बिष्टलाई ‘पप किङ’ पनि भनिन्छ। जीवनमा करिब २ सय गीत गाइसकेका विष्ट उमेरको ६० को दशकमा पनि उत्तिकै सक्रियतासाथ गाइरहेका छन्। पछिल्लो समय चितवनमा भएको एक कन्सर्टमा उनले साढे १३ वटा गीत गाएका थिए। आफ्नो गायन यात्राका बारेमा उनले देश सञ्चार चौतारीमा सुनाए यसपटक।
पहिलो गीत २०२९ सालमा रेकर्ड गरेसँगै उनको सांगीतिक यात्रा सुरु भएको थियो। अनप्लग्ड गीत गाउने पहिलो नेपाली गायकका रूपमा चिनिएका गायक विष्टले ‘म मौनतामा अल्झिरहेको’ गीत गाउन जुरेको कथा सुनाए, ‘यो गीत २०३३ सालतिर गाएको थिएँ। संयोगले मैले गाउन पाएँ, दार्जिलिङबाट यो गीत लिएर आएका थिए अल्बर्ट सुब्बाले, जसलाई कम्पोज गरे रोबर्ट सुब्बाले। गीत पुनर्लेखन गर्दागर्दै साह्रै राम्रो बन्यो। मैले गाएँ। गाइसकेपछि त यसरी चल्यो कि मैले पछाडि फर्किनु परेन।’
आधुनिक संगीतको दबदबाको बेला उनले पप गीत निकालेर चुनौती नै मोलेका थिए। पप गीत गाएकै कारण उनलाई रेडियो नेपालका दिग्गज गायक कलाकारले अवसर दिन हिचकिचाउने गरेको उनले सम्झिए—गीत रेकर्ड गर्ने रेडियो नेपाल नै त थियो त्यसो हुँदा पालो कुर्न महिनौ लाग्थ्यो।’
छोरीज्वाईसँग अमेरिका बस्दै आएका विष्टले रेडियो नेपालमा थुप्रै गीत गाए। पप गीत गाएरै मन जिते। बेस गिटार रुचाउने विष्टलाई रेडियो नेपालमा भेटिनेले गिज्याउने गरेको सम्झिए, ‘तिम्रो बाँस गिटार यहाँ काम छैन भनेर हेप्थे। पछि विस्तारै त्यही बेस गिटार रेडियो नेपालका दिग्गज गायक-कम्पोजरलाई चाहिन थाल्यो, अनि मैले थुप्रै गायक संगीतकारका गीतमा गिटार बजाएँ।’
रेडियो नेपालमा गीत गाएको बीस रुपैयाँ पारिश्रमिक पाएको पनि सम्झिए। बिष्टले थुप्रै गायक संगीतकारसँग काम गरेका छन् । संगत गरेका छन् । उनले सम्झिरहने नाम हो- स्वरस्रमाट नारायणगोपाल । नारायण गोपालसँग लामा सांगीतिक यात्रामा निस्किँदाको पलहरू स्मरण गरे। ‘दामनमा दुरबिनबाट हेर्न खोज्दा नारायण दाइलाई रुपचन्द्र बिष्टले हप्काउनु भयो। पछि हात हालाहाल नै गरे। मैले छुट्याउन पर्यो,’ उनले भने, ‘नारायण दाइ एकदम मुडी मान्छे हुनुहुन्छ। उहाँले म बसेको सिट नदिएर गाडीको छतमा बस्न बाध्य पार्नु भएको थियो। मसँग खासै जम्थेन र पनि मलाई प्रेम गर्नु हुन्थ्यो। मेरो संरक्षणका लागि सधैं तयार हुनुहुन्थ्यो उहाँ। धरानको एक कार्यक्रममा उहाँ मेरा लागि मविरुद्ध खनिएकासँग लड्न तयार हुनु भएको थियो ।’
रुपचन्द्र बिष्टलाई काका भन्थे उनी। थाहा आन्दोलनको सिलसिलामा सल्लाह सुझाव लिन घरमै आइरहने गरको स्मरण गरे, ‘रूपचन्द्र काका घरमै आउनुहुन्थ्यो । मेरो बुवा दौलतविक्रम विष्टलाई भेट्न ।’ साहित्यकार दौलतविक्रम विष्टको माइलो छोरा ओमविक्रम विष्टले पहिलो पटक बुवाले गिटार किनेर ल्याइदिएको पनि सम्झिए, ‘बुवाले पहिलोपटक मलाई मलेसियाबाट एउटा गिटार ल्याइदिनु भएको थियो । पछि त्यो गिटार बजाउने भन्दा पनि सजाउने खालको रहेछ।’
बुवाको हात समाएर तरकारी किन्न गइरहन्थे उनी। बुवालाई स्थानीयहरूले तरकारी बाजे भनेर बोलाउने गरेको उनको कानमा अझै गुन्जिन्छ। उनी भन्छन्, ‘बुवासँग तरकारी किन्न जान दाइ लाज मान्नुहुन्थ्यो अनि म जान्थेँ।’
गीत गाउनका लागि उनलाई परिवारबाट कहिले रोकटोक भएन। घरमा आमालाई नै गीत गाउनमा रूचि भएकाले गीत गायनको वातावरण बन्ने नै भयो। बरू उनको पहिरनलाई लिएर भने स्थानीयहरुले निकै गिज्जाउने गरेको सम्झिए— म फेसन गर्न रुचाउँथे । ह्यान्डसम थिएँ। गल्लीमा हिँड्दा कस्तो च्यातिएको पाइन्ट लगाएको भनेर गिज्याउँथे।’
हिप्पीहरूको पहिरनलाई नजिकबाट देखेका बिष्ट विग्रन्छन्, कुलतमा फस्छन् कि भनेर परिवारले सधैं चिन्ता गरेको स्मरण गरे उनले।
‘त्यो समय झोँछे हिप्पीको अखडा थियो। त्यो बाटो भएर हामी घर आउजाउ गर्थ्यौँ। अनि मेरो पहिरन पनि त्यस्तै थियो त्यसैले घरमा बुवाआमा चिन्ता गर्नुहुन्थ्यो,’ उनले भने।
बाल्यकालदेखि बुवाका किताबहरू पढ्दै आएका विष्ट आफ्ना बुवाको लेखनबाट सधैं प्रभावित भएको बताउँछन्। उनी भन्छन्, ‘राज्यले मेरो बुवालाई चिन्न सकेन र हामी कलाकारलाई पनि चिन्न सकेन। यहाँ त पार्टीको झण्डा बोक्नेलाई मात्रै चिन्यो।’
कुनै बेला पप गीतको एकछत्र राज थियो। पप नसुन्ने सायदै थिए। ‘पप म्युजिक ट्रेन्डसेटर’ भनेर चिनिने बिष्ट अहिले पप गीत खस्किएको बताउँछन्। पपगीतमा पनि नेपाली सुगन्ध हुन्थ्यो तर पश्चिमा संगीतको नाममा छाडा भित्रिएको उनको बुझाइ छ। उनी भन्छन्, ‘अहिले त पप मात्रै होइन लोकदोहोरी गीतमा पनि अत्यन्तै छाडा भित्रियो। दोहोरो मिनिङ लाग्ने गीत आए। भिडियो पनि त्यस्तै निस्किन थाल्यो।’
जीवनमा जति नै ठूलो सफलता पाए पनि मान्छेको व्यक्तिगत जीवन पनि हुन्छ। उनको व्यक्तिगत जीवन खासै उल्लासमय छैन। सांगीतिक यात्राका क्रममा दार्जिलिङ जाँदा आफ्नै फ्यानको प्रेममा परेर घर लिएर आए। २२ वर्षे जीवनमा विवाह गरेर घर पुग्दा उनलाई स्वीकारेन परिवारले। पछि उनले डेरामा संघर्ष गरे। तीन छोरी र एक छोरा जन्माए। त्यसपछि उनले परिवार चलाउन व्यवसाय पनि गरे।
उनी भन्छन्, ‘महिलाबिनाको घर घरजस्तो हुँदोरहेनछ। मेरो पहिला श्रीमती काठमाडौँमा खुसी हुन नसकेर दार्जिलिङ फर्किन्। उतै रमाइन्। पटकपटक लिन जाँदा पनि आइनन्। दोस्रो श्रीमतीसँग पनि धेरै बस्न पाइनँ। उनी निमोनियाका कारण बितिन्। उनले मेरो चार सन्तानलाई हुर्काउँदा हुर्काउँदै बितिन्। त्यसपछि अर्को विवाह गरिनँ। अर्को विवाह गर्थेँ भने अहिले छोराछोरीको यति माया पाउँदिन थिएँ हुँला।’
आफूले सारा जीवन नेपाली संगीतलाई नै समर्पण गरेको बताउने बिष्टका ‘म मौनतामा अल्झिरहेको जीवन,’ ‘नभनिदेऊ मेरो ओठको लाली,’ ‘याद गर ती दिनहरु,’ ‘भन्न सकिन्नन्,’ ‘आऊआऊ मेरो दिलमा तिमी,’ ‘सुनचाँदी महँगो यो ज्यानलाई’, ‘मेरो याद अझै आउँछ भने,’ गीत निकै चर्चित छन्।
जीवनमा धेरै मान्छेहरूले आफ्नो कुरा ढाँटेर बोल्छन् तर बिष्ट ढाँटेर बोल्नु भन्दा नबोलेकै जाती ठान्छन् । ‘सत्य कुरा ढाँट्न पर्छ भने किन बोल्नु र, बरु सत्य भन्ने, नढाँटेर। मन पनि हलुका हुन्छ। म निसंकोच भएर आफ्ना कुरा भन्न सक्छु त्यसैले पनि म स्वस्थ्य छु्,’ उनले भने ।
पूरा भिडियो: