
काठमाडौँ- नेपाल प्रिमियर लिग अन्तर्गत बुधबारको पहिलो खेलमा जनकपुरविरुद्ध टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले १ सय २४ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।
राम्रो सुरुवातका बाबजुत मध्य क्रम र पछिल्लो क्रमले लगातार विकेट गुमाउँदा सुदूरपश्चिम सामान्य स्कोरमा समेटियो। पहिलो विकेटका लागि ५५ रनको साझेदारी गरेको उसले थप ६८ रन जोड्द ९ विकेट गुमाएको थियो।
उसले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २३ रन बनाएको थियो। सुदूरपश्चिमका लागि बिनोद भण्डारीले ३३ रन बनाउँदा साइफ जइबले २१ रन बनाए। उसका लागि थप दोहोरो स्कोरका रुपमा इशान पाण्डेले १७ रन बनाउँदा ब्रान्डन म्याकमुलनले ११ रन बनाए। अन्य खेलाडीले भने दोहोरो स्कोरमा रन बनाउन सकेनन्।
जनकपुरका लागि किशोर महतोले ४ विकेट लिँदा शेर मल्ल र अरनिको यादवले २-२ विकेट लिए। अर्को एक विकेट हर्ष थकरको नाममा रह्यो।