
पोखरा – बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको न्यायको माग गर्दै पोखरामा पनि प्रदशर्न गरिएको छ ।
‘निर्मलाका लागि न्याय’ भन्दै शनिबार देशैभरि प्रदर्शन भइरहेको सन्दर्भमा पोखरामा पनि प्रदर्शन गरिएको हो । विभिन्न प्लेकार्ड बोकेका सहभागीहरुले पन्तको हत्यारा पत्ता लगाएर कडा कारबाहीको माग गरेका छन् ।
प्रदर्शनमा स्वस्फूर्त रुपमा सहभागी भएकाहरुले निर्मलाको तस्बिर बोक्नुका साथै ‘मौन बसेको सरकार, किन बढ्दैछ बलात्कार’, ‘चुप लागेर नबसौँ, न्याय मर्न नदिँउ’, ‘फाँसी भन्दिन, तर स्वतन्त्र नि छोड्दिन्,’ ‘सरकार देखाउ इच्छा खै महिलाको सुरक्षा?’ ‘सरकारले देखायो लाचारी त्यसैले हाम्रो खवरदारी’ लगायत प्लेकार्ड बोकेका थिए ।
प्रदर्शनीमा विभिन्न पेशा व्यवसायका व्यक्तित्वहरु, विद्यार्थी, सामाजिक अभियान्ता, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिती थियो । कार्यक्रममा सरस्वती गुरुङ्ग, चन्द्रा भद्रा, सरस्वती प्रतिक्षा, सरीता पुरी, सावित्री गौतम लगायतले बोलेका थिए ।