
काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणमा सुदूरपश्चिम रोयल्सले फाइनलमा स्थान पक्का गरेको छ।
बुधबार भएको पहिलो क्वालीफायरमा जनकपुर बोल्ट्सलाई ८ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो।
पराजित जनकपुरले भोली दोस्रो क्वालिफायरमा कर्णालीविरुद्ध पुनः एकपटक फाइनल प्रवेशको अवसरका लागि प्रतिस्पर्धाको मौका पाउने छ।
टियू मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले दिएको १ सय ४० रनको लक्ष्य सुदूरपश्चिमले ९ बल बाँकी हुँदा २ विकेट गुमाएर पुरा गर्यो।
सुदूरपश्चिमको सहज जितमा ओपनर बिनोद भण्डारीले ५५ बलमा ५८ रनको अर्धशतकीय अविजित इनिङ खेले। त्यस्तै ब्रान्डन म्याकमुलनले २५ रन बनाउँदा दिपेन्द्र सिंह ऐरी २० रनमा अविजित रहे।
त्यसअघि ओपनर साइफ जैबले ३२ रन बनाएका थिए। जनकपुरका लागि ललित राजवंशी र किशोर महतोले समान १-१ विकेट लिए। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३९ रन बनाएको थियो।
जनकपुरका लागि जिमी निसमले २३ बलमा ४५ रनको इनिङ खेलेका थिए। उनी बाहेक थप दोहोरो स्कोरका रुपमा कप्तान आसिफ शेखले ११ रन बनाउँदा लाहिरु मिलन्था १२ रनमा आउट भए।
त्यस्तै शुभ कंसकार २६ रनमा आउट हुँदा हर्ष थकर १२ रनमा पेभिलियन फर्किएका थिए। त्यस्तै अरनिको यादव ११ रनमा आउट भएका थिए। सुदूरपश्चिमका लागि दिपेन्द्र सिंह ऐरीले ३ विकेट लिँदा साइफ जइबले २ विकेट हात पारे। त्यस्तै स्कट कुग्लिङ् र अभिनाष बोहराले समान १-१ विकेट लिए।