
झापा- झापाको बुद्धशान्ति गाउँपालिकाका वडा नं ६ र ७ जोड्नका लागि बनिरहेको देशकै तेस्रो लामो झोलुङ्गे पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ।
उक्त पुल निर्माणको गत असार २४ गते झापा क्षेत्र नं १ का सांसद तथा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले शिलान्यास गरेका थिए।
बुद्धशान्ति गाउँपालिका ७ को वडा कार्यालय नजिकै टिमाई खोलामाथी निर्माण भइरहेको ४७६ मिटर लम्बाइको झोलुङ्गे पुल सञ्चालनमा आएपछि बुद्धशान्ति गाउँपालिकाका दुई वटा वडाहरुलाई मात्रै जोड्ने नभइ यसले इलाम र झापाका गाउँहरूलाई पनि जोड्ने स्थानीयबासीले बताएका छन्।
उक्त पुलको निर्माणको काम करिब ९५ प्रतिशत सम्पन्न भइसकेको बुद्धशान्ति गाउँपालिका वडा नं ७ का अध्यक्ष चन्द्र भण्डारीले जानकारी दिए।
थानी जगदम्बा जेभी काठमाण्डौले निर्माण गरिरहेको झोलुङ्गे पुलको ठेक्का रकम ५ करोड ९८ लाख ८१ हजार ७६१ रुपैयाँ ३५ पैसामा पारेको थियो।
२०८१ जेठ २४ गते ठेक्का सम्झौता भएको पुलको निर्माण २०८३ जेठ २३ गते भित्रमा निर्माण सम्पन्न गरिसक्नु पर्ने भए पनि करिब ६ महिनामै उक्त काम सम्पन्न हुने चरणमा छ।