
काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल) मा अब अन्तिम एक खेल बाँकी छ, अर्थात फाइनल खेल बाँकी छ। प्रतियोगिता सुरु हुनुअघि हाइप बनाएका टोलीहरु मैदानको यो दौडबाट बाहिरिसकेका छन्। खेल सुरु हुनुअघि काठमान्डु, पोखरा, विराटनगर, चितवन र कर्णालीको चर्चा अहिले फाइनल पुगेका सुदूरपश्चिम र जनकपुरभन्दा माथि थियो।
तर, मैदानमा अब्बल सावित हुँदै ‘अन्डर रेटेड’ दुई टोली जनकपुर र सुदूरपश्चिम बलियो ‘फ्यान बेस’सहित फाइनलमा पुगेका छन्। फाइनलमा पुगेसँगै यो संस्करणको पहिलो उपाधि यिनै दुईमध्ये एक टोलीले जित्ने छ।
तर, अहिले नेपाली खेलकुद इतिहासमै पहिलो पटक एउटै प्रतियोगितामा उत्कृष्ट प्रदर्शनको आधारमा कार पुरस्कार घोषणा गरिएको छ। यसअघि फुटबलमा वर्ष खेलाडीलाई ‘कार’ पुरस्कार दिएको थियो। तर, एउटै प्रतियोगितामा गरेको प्रदर्शनको आधारमा दिन लागिएको यो पुरस्कार कसले पाउला भन्ने उत्सुक्ता स्वाभाविक छ। उत्कृष्ट नेपाली खेलाडीलाई दिइने यो पुरस्कारको दौडबाट स्वभाविक रुपमा राम्रो प्रदर्शन गरे पनि विदेशी खेलाडी अयोग्य भएका छन्।
त्यसैले कारको लडाइँमा नेपाली खेलाडीमध्येबाट सर्वाधिक अघि केही खेलाडी छन्। यस्तोमा फाइनलको प्रदर्शन बाँकी रहँदा त्यसअघिको प्रदर्शनलाई आधार मान्दा दीपेन्द्र सिंह ऐरी सर्वाधिक बलियो दाबेदार हुन्।
उनीसँगै राष्ट्रिय टिमका कप्तान रोहित पौडैलले टोली लिगको पुछारमा रहेर बाहिरिए पनि आफ्नो कप्तानी प्रदर्शन दिलाए। तर, उनको प्रदर्शन टिमको पराजयसँगै छाँयामा पर्यो।
व्यक्तिगत रुपमा उनको प्रदर्शन सम्झनयोग्य छ तर टिम धेरै माथि नपुग्दा उनी कार पुरस्कारका लागि कमजोर दाबेदार बने। त्यस्तै, जनकपुरका बलर ललित राजवंशी अगाडि छन्। उनले फाइनलमा चमत्कारिक बलिङ गरेको खण्डमा उनको पक्षमा पनि यो पुरस्कार जान सक्छ।
तर, अहिलेसम्मको प्रदर्शनका आधारमा सुदूरपश्चिम रोयल्का कप्तान दीपेन्द्र सिंह ऐरी सर्वाधिक अघि छन्। उनी के कारणले सर्वाधिक अघि छन् त? हेरौँ उनले कार पाउन सक्ने केही आधारः
सानदार कप्तानी
सुदूरपश्चिम रोयल्सका मार्की खेलाडी तथा कप्तान दीपेन्द्र सिंह ऐरीले टिमका लागि निकै उच्च स्तरको कप्तानी गरे। उनको कप्तानीमा टिमले अहिलेसम्म केवल एक हार मात्र सामना गरेको छ। समूह चरणका सात र क्वालिफायरको एकसहित कुल आठ खेल खेलेको सुदूरपश्चिमले केवल चितवन राइनोजसँग समूह चरणको चौंथो खेल हार्यो। त्यसबाहेक बाँकी सबै खेल जित्यो।
यसको सफलताको जस स्वाभाविक रुपमा कप्तानको काँधमा जान्छ। उनले सानदार कप्तानी गरेर टिमलाई फाइनल पुर्याए। यसबीचमा टिमको फराकिलो र साँघुरो जित अन्तर निकाल्न उनको भूमिका सर्वाधिक अब्बल रह्यो।
पछिल्लो क्रमका मेरुदण्ड
धेरैजसो टिमको प्रदर्शन शीर्ष क्रमको आधारमा टिकेको देखिन्छ। सुदूरपश्चिम रोयल्स मात्र एउटा यस्तो टिम बन्यो जसको शीर्ष र मध्यक्रम नचल्दा पनि टिमले जित आत्मसाथ गर्यो।
छैटौँ या सातौँ नम्बरमा ब्याटिङका लागि आउने दीपेन्द्रले टिमको संकटपूर्ण अवस्थालाई पार लगाएका छन्। उनले विराटनगरविरुद्ध सातौँ नम्बरमा आएर ब्याटिङ गर्दै अर्धशतक बनाएर टिमलाई जोगाएका थिए। त्यसो त उनले अन्य खेलमा पनि पछिल्लो क्रम धान्दा सुदूरपश्चिम सधैँ बलियो देखियो।
पछिल्लो क्रममा रहेर पनि उनले ब्याटिङमार्फत टिमलाई कुल ८ इनिङमा १ अर्धशतकसहित २ सय १८ रनको योगदान दिए। परिस्थितिअनुसार कुनै कुनै खेलमा मात्र उनले अघि आएर ब्याटिङ गरेका थिए। उनी सर्वाधिक उच्च ओसतमा ब्याटिङ गर्ने ब्याटर बने। उनले ४३.६० को औसतमा रन प्रहार गरेका छन्।
६ इनिङ्स बलिङ गर्दै ८ विकेट
उनले कुल ८ खेल खेल्दा ६ खेलमा बलिङ गरे। उनले ६ खेलबाट ८ विकेट लिए। उनले लुम्बिनी लायन्स र काठमान्डु गुर्खाजविरुद्ध बलिङ गरेनन्। उनले ६.४२ को इकोनोमिममा बलिङ गर्दै टिमका लागि महत्वपूर्ण रन बचाएर ८ विकेट लिएका थिए।
अब्बल फिल्डिङमा, दुई पटक ‘प्लेयर अफ द म्याच’
उनी प्रतियोगितामा प्लेयर अफ द म्याच दुई पटक घोषित भए। उनले तीन पटक रनआउट गर्दा ३ क्याच समाएका छन्।
अन्य खेलमा पनि उनको अलराउन्डर प्रदर्शन टिमको जितको आधार बन्यो। बलिङ, ब्याटिङ र फिल्डिङसँगै सुन्दर कप्तानीकै कारण प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीको लाइनमा दीपेन्द्र सर्वाधिक अघि छन्।
यद्यपि, फाइनलमा हुने प्रदर्शनसमेत हेरिने भएकाले दीपेन्द्रलाई ललित राजवंशीले टक्कर दिने अन्तिम खेल बाँकी छ। ललितले एक खेलबाहेक सबै खेलमा विकेट लिएका छन्।
उनी सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा सुदूरपश्चिमका स्कट कुगलिङसँगै १६ विकेटका साथ शीर्ष स्थानमा छन्। उनी सर्वाधिक विकेट लिने नेपाली खेलाडीका रुपमा रहँदा जनकपुर च्याम्पियन बनाएको खण्डमा उनले दीपेन्द्रलाई पछि पार्ने सम्भावना कायम रहन्छ।