
वीरगञ्ज – शनिबार बिहान बारामा कारभित्र मृत भेटिएका व्यक्तिको पहिचान खुलेको छ।
मृत फेला परेका व्यक्ति बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ का राजकुमार रुम्बा भएको बारा प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार रुम्बा नेपाल प्रहरीका कर्मचारी हुन्। उनी सिमरा विमनस्थलमा कार्यालय सहयोगीका रुपमा कार्यरत रहेको बाराका एसपी महेन्द्र खड्काले जानकारी दिए।
शव नियन्त्रणमा लिएर पोस्टमार्टमको लागि अस्पताल पठाइएको तथा घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको उनले बताए।
शनिबार बिहान जितपुर सिमरा उपमहानगरपालिका–११ मा बागमती प्रदेश ०१-०२८ च ७६१६ नम्बरको कारभित्र रुम्बाको शव भेटिएको थियो।
कारभित्र शव भेटिएको जानकारी पाएपछि बारा प्रहरीले घटनास्थलमा तालिम प्राप्त कुकुरसहितको टोली पठाएर अनुसन्धान गरेको थियो।
एसपी खड्काका अनुसार मृतकको टाउकोमा चोट देखिएको छ। रुम्बाको गोली हानेर हत्या गरिएको आशंका गरिएको छ।