
कविता
प्यारो बा,
सधैँ तिमीले देखाएको स्नेहमयी आदर्शमा हिँड्न सकूँ
आफूलाई बिर्सेर अरुलाई गर्न सकूँ
सधैँभरि मलाई देख्नेहरुले, तिम्रो प्रतिबिम्ब ममा देख्ने बन्न सकुँ
तिम्रो अंश अनि बंश हुँ
सधैँ तिम्रो शिर उचो पार्न सकूँ
बा तिमी परिपक्व छौ, बलियो छौ, थाहा छ,
मैले तिम्रा कमजोरी केलाउने त मायाले पो हो
यस्तो भएन उस्तो भएन भन्नु,पुर्खाको नासो थामौँ भनेर हो
यसो गर उसो गर भन्नु नाति पुस्ताले पनि मैलेझैँ प्यारो मानोस् सोचेर हो
सधैँ सबैको निम्ति गर्ने मेरो बालाई आफ्नो निम्ति देख्नलाई हो
सानोमा तिमीले बार्दलीबाट खसाल्छु भन्दै झुन्ड्याएर औषधी खुवाउँदा
सधैँ सजिलोसँग खाइन र बा
जोड घटाऊ गुणन नजान्दा, कुटाइले बिच्छौनामै पिसाब फेरेँ
तर कहिल्यै म रोएँ र बा
अनि तिम्रो जनैको साँचो मैले हराउँदा
चनाबारीमा राम्रैसँग चुटेको पनि ताजै छ बा
अनि तिमीलाई थाहा छ बा, म ती सजायको गुनासो किन गर्दिन,
किनकि ती स्नेहमयी चड्कन मलाई तिमीबाहेक अरु कसले लगाउँथ्यो र
सधैँभरि टाढा बस्ने बा कहिलेकाहिँ घर आउँदा पनि
तिमीलाई खराब बा भनेर मानेँ र
तिमीले मेरो फिस नतिरिदिँदा पनि त
तिमीलाई म आदर्श बा मान्छु नि होइन
तिमीलाई नभनी नभनी तिमीजस्तै बन्ने कोशिश गर्छु नि बा
तिम्रा कमजोरीहरुबाट सिकेर
तिमीभन्दा ‘बलियो’ तिमी बन्ने कोशिशमा छु नि बा
त्येसैले आजको दिनमा बिन्ति गर्छु बा
आफूलाई हेर
आफूलाई स्याहार
ताकि सधैँ तिमीसँग झगडा गर्न पाउँ
सधैँ तिम्रा कमजोरी औँल्याउन पाउँ
सधैँ तिमीसँग लड्न पाउँ
किनकि बा,
म तिमीबाहेक
कोसँग लड्न सक्छु र
कोसँग झगडा गर्न सक्छु र
यो संसारमा
-डेनमार्क