
वीरगन्ज – बाराको जितपुर सिमरा उपमहानगरपालिकामा नेपाल प्रहरीको कार्यालय सहयोगी राजकुमार रुम्बाको हत्यामा संलग्न रहेको आरोपमा राष्ट्रिय अनुसन्धानका अधिकृतसहित तीन जना पक्राउ परेका छन्।
पक्राउ परेकाहरुलाई आइतबार बारा प्रहरीले पत्रकार सम्मेलन गरी सार्बजनिक गरेको छ। पक्राउ पर्नेमा महोत्तरी जलेश्वर नगरपालिका–३ घर भई राष्ट्रिय अनुसन्धान कार्यालय बारा दरबन्दी भई विमानस्थल कार्यालय सिमरामा कार्यरत राष्ट्रिय अनुसन्धान बिभागका अनुसन्धान अधिकृत श्रीकान्त तिवारी, बारा जितपुर सिमरा उपमहानगरपालिका–१९ घर भई वडा नं १ स्थित जय माँ इन्जियरिङ वर्कसपका सञ्चालक २७ बर्षका पुरुषोत्तम कुमार दास र सोही स्थानका २० बर्षका ईन्द्रजित कुमार चौहान छन्।
गत पुस ६ गते जितपुर सिमरा उप महानगरपालिका–।११ स्थित बकुलिया देखी रमौली लोसन्डा जाने सडक खण्डको छेउमा बागमती प्रदेश ०१९०२८ च ७६१६ नम्बरको कारमा रुम्बाको शव भेटिएको थियोे। जितपुर सिमरा उपमहानगरपालिका–१ घर भएका रुम्बा विमान स्थल सुरक्षा गार्ड सिमरामा प्रहरी कार्यालय सहयोगीमा कार्यरत थिए।
कारमा शव भेटिएपछि पोस्टमार्टम रिपोर्टमा रुम्बाको टाउकोमा एक राउन्ड गोली हानी हत्या गरिएको खुलेको थियो। अनुसन्धानको क्रममा पक्राउ परेका वर्कसप सञ्चालक दासको वर्कसपबाट मृतक रुम्बाले घाँटीमा लगाएको एक थान सुनको सिक्री,उनकै झोलाबाट मृतकको पर्स बरामद गरिएको बाराका प्रहरी प्रबक्ता डिएसपी प्रकाश सापकोटाले जानकारी दिए।
साथै, पक्राउ परेका तीनै जनाको साथबाट ६ थान मोबाइल दासले प्रयोग गर्ने गरेको ना १३ प ५४७ नम्बरको मोटरसाईकल पनि बरामद गरिएको उनले बताए। पूर्ब रिसइबी र लुटपाटका कारण रुम्बाको हत्या भएको डिएसपी सापकोटाले बताए।पक्राउ परेका तीनैजनाविरुद्ध कर्तव्य ज्यानसम्बन्धी कसूरमा मुद्दा दर्ता गरी अदालतबाट सात दिनको म्याद थप गराई अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।