एक युवतीको खेलाडी बन्ने सपना:

रनिङ छोडेर भलिबलमा जमेकी जेनिसा

+
-

बाध्यता रहर भयो। अनि, रहर प्यासन। अनि, त्यो प्यासन जिन्दगी बनेको छ।

जेनिसाले सानै उमेरमा दोडिन सुरु गरिन्। घर-आँगनमा, गाउँका गोरेटोमा, घरबाट स्कुलसम्म अनि खेत-खल्यानमा। त्यो उनको बाध्यता थियो।

त्यसपछि उनी स्कुलका, गाउँका, जिल्ला स्तरीय, प्रदेश स्तरीयको प्रतिनिधित्व गर्दै काठमाडौँका प्रतियोगितामा दौडिइन्। त्यो उनको रहर थियो। दौडिएर के हुन्छ उनलाई थाहा थिएन। बस् उनी दौडिन्थिन्।

त्यही रहर र उत्सुकताले संखुवासभाको पिप्लेबाट जेनिसा विश्वकर्मालाई काठमाडौँसम्म डोर्‍यायो। कुमार राईको न्यू डायमण्ड एकेडेमीसम्म। तर, दौड कम उफ्रिने ज्यादा हुने ठाउँमा। जहाँ उनले ४ वर्षदेखि भलिबल सिकिरहेकी छन्। उनको जीन्दगी बनिसकेको छ अब यो।

उनी नैकापको न्यू डायमण्ड क्लबको होस्टेलमा बस्छिन् र नजिकैको न्यू डायमण्ड एकेडेमीमा पढ्छिन्। बिहान ५ बजे उठ्ने। तयार भएर कोचिङ पढ्न जाने। फर्किएर खाना खाएर फेरि पढ्न जाने। बेलुका ४ बजे फर्किएर तयार भएर साढे ४ बजेसम्म भलिबल कोर्टमा पुगिसक्नु पर्छ। जहाँ कुमार राई उनीजस्तै २५ जना आफ्ना छोरी कुरिरहेका हुन्छन्।

उनले यही कोर्टबाट आफ्नो दौडने रहर छोडेर भलिबललाई दैनिकी बनाएकी छन्। उनको अस्तव्यस्त जीन्दगीलाई कुमार राईले आकार दिन सहयोग गरेका छन्।

सानैमा आमाले छोडेर गइन्। उनलाई आमाको अनुहार पनि याद छैन। ‘मलाई आमासँगको कुनै पनि कुराको सम्झना छैन। उहाँ कहाँ हुनुहन्छ थाहा छैन,’ मलिनता छाएको अनुहारमा उनले भनिन्, ‘आमा (हजुरआमा)ले भन्नुभएको मलाई उहाँले मामा घरमा छोडेर जानु भएको रे!’

केहीदिनपछि उनकी हजुरआमाले मामाघरमा गएर भनिन्, ‘मेरी नातिनी म नै हुर्काउँछु।’ त्यसपछि उनी हजुरआमा-हजुरबासँग बस्न थालिन्। हजुरआमा अब आमा भइन्। हजुरआमाले उनलाई आमाको कमी कहिल्यै हुन दिइनन्। ‘तर जति गरे पनि आमाको मायाजस्तो त हुँदैन तर उहाँहरुको मायाले कुनै कमी थिएन र आमाको याद कहिल्यै पनि आएन’, मलिन स्वरमा उनले भनिन्।

जेनिसा विश्वकर्मा। तस्बिर: प्रभात खनाल

छोडेर गएपछि आमा कहिल्यै मेरी छोरी कस्ती छिन् भनेर हेर्न पनि आइनन् फर्केर। ‘आमाले छोडेको केही समयपछि बुवाले अर्कै बिहे गर्नु भयो,’ उनले भनिन्, ‘उहाँ छुट्टै बस्नुहुन्छ।’

खेत धेरै थिएन। हजुरबुवा-हजुरआमाले नजिकै खेत अधिया लगाउँथे। उनी पनि आमासँग खेतमा जान्थिन्। सकेको सघाउँथिन्। मिलेको बेला साथीहरुसँग खेल्न पुगिहाल्थिन्। त्यहीँबाट उनको दौडको अध्याय सुरु हुन्छ।

काकाहरुले केटीमान्छे केटाहरुसँग खेल्नु हुँदैन भन्ने तर दौडनका लागि कहिल्यै रोकेनन्। घरदेखि बजारसम्म मात्र जान उनलाई छुट थियो। घरमै बस्ने, पढ्ने अनि खेतमा काम गर्न जाने यतिमै उनका दिनहरु टुङ्गिन्थे। तर, दौड उनले कहिल्यै छोडिनन्। हाँस्दै उनी भन्छिन्, ‘म खेल भनेपछि जहाँ पनि पुगिहाल्थेँ। गाली गाएर होस् कि कुटाइ खाएर होस्। अरुबेला कुद्ने समय हुँदैनथ्यो, त्यसैले अभ्यास गर्दैनथेँ तर जब प्रतियोगिता सुरु हुन्थ्यो तब गर्थेँ र जितिहाल्थेँ।’

सानै उमेरमा उनको यो रहर खेत धनी जीवनाथ खनालले देखेका थिए। ‘म उहाँको घरमा गइरहन्थेँ, आन्टीलाई काममा सघाउँथेँ। उहाँले कतिपटक मलाई पैसा दिनु भएको छ,’ खुसी हुँदै उनी भन्छिन्।

सहकर्मी एञ्जीला प्रधानसँग अभ्यास गर्दै जेनिसा विश्वकर्मा। तस्बिर: प्रभात खनाल

एकदिन काम सकेर खाना खाने बेलामा जीवनाथ खनालले भने, ‘तँ खेल्छेस्? भलिबल खेल्न काठमाडौँ जान्छेस्?’ उनले सोच्दै नसोची हुन्छ भनिदिइन्। तर आमालाई मनाउन उनलाई र जीवनाथ खनाललाई गाह्रो भयो।

‘आमाले विश्वास गर्नुभएको थिएन। उहाँले अहिलेको जमानामा कसरी विश्वास गर्ने भनेर पठाउँदैन भन्नुभयो,’ प्रशन्न अनुहारमा उनले भनिन्, ‘जीवनाथ सरले धेरै अनुरोध गरेपछि मान्नुभयो।’

वास्तवमा उनी एथ्लेटिक्स खेलाडी थिइन्। उनी गाउँ, स्कुल, जिल्ला, प्रदेशका थुप्रै प्रतियोगितामा दौडिसकेी थिइन्। दौड्न प्रदेशको प्रतिनिधित्व गर्दै काठमाडौँसम्म पनि आएकी थिइन्।

‘म एथ्लेटिक्सको खेलाडी। मैले भलिबलका लागि हुन्छ भनेँ। किनभने म खेल भनेपछि हुरुक्कै हुन्थेँ। त्यसमा पनि काठमाडौँ जाने भनेपछि म उत्सुक भएँ,’ मुस्कुराउँदै उनले भनिन्, ‘काठमाडौँ जान कसलाई पो मन लाग्दैन र!’

एभरेष्ट वुमन भलिबल लिगमा कर्णाली याक्सविरुद्धको खेलअघि वार्मअप गर्दै जेनिसा विश्वकर्मा। साथमा उनका गुरु कुमार राई। राई कर्णाली याक्सको प्रशिक्षक थिए भने जेनिसा चितवन शक्ति टीममा थिइन्। तस्बिर: प्रभात खनाल

आमालाई मनाएका जीवनाथ सरले कुमार राईलाई मनाउन हम्मे पर्‍यो। कोभिडका कारण कुमार राई पनि आर्थिक रुपमा थलिएका थिए। खनालले उपाए निकाले र कुमार राईका मित दाजु राजेन्द्र पोखरेललाई फोन लगाए। पोखरेल उनै थिए जोसँग राई पहिलो पटक काठमाडौँ आउँदा बसेका थिए। राईले पोखरेलको कुरा काट्दैनथे। पोखरेलले कुमारलाई फोन गरेर राख्देऊ केही परे हेरौंला भनेपछि नाइँ भन्न सकेनन्।

गाउँको सरकारी विद्यालयबाट उनले ८ कक्षा पास गरिसकेकी थिइन्। सरकारी भएकाले उनी न्यू डायमण्ड एकेडेमीमा ७ कक्षामा भर्ना भइन्। सँगसँगै भलिबलको अभ्यास।

‘सुरुमा रनिङ छोड्नु पर्दा दु:ख लागेको थियो। भलिबलमा त्यति धेरै रुचि थिएन पहिला,’ हाँस्दै उनी भन्छिन्, ‘किनभने म दौडिन्थेँ नि त। अहिले त मन पर्छ। अब यसैलाई निरन्तरता दिन्छु।’

उनलाई लाग्छ, रनिङ भनेको छोटो समयको लागि थियो। त्यसमा केही भविष्य थिएन। गाउँमा के नै हुन्छ र खेलकुद गरेर। महत्व नै थिएन। उनी भन्छिन्, ‘म आज भलिबलका कारण जहाँ छु, त्यहाँ रनिङका कारण हुने थिइनँ। अहिले लाग्छ, राम्रो गरेछु।’

एभरेष्ट वुमन भलिबल लिगमा सलिना बुढामगरका साथमा जेनिसा विश्वकर्मा। दुवै जना न्यू डायण्ड युथ स्पोर्टस् क्लबका खेलाडी हुन्। तस्बिर: प्रभात खनाल

आएको तीन महिनामै उनी टिममा परिन्। उनको पहिलो टुर्नामेन्ट टाइगर कप थियो। सिनियर खेलाडीले क्लब छाडेका कारण उनी टिममा परेकी थिइन्।

उनले सम्झिइन्, ‘त्यो टुनामेन्टमा म खेल्न त पाएन तर हामी तेस्रो भएका थियौँ।’ उनलाई सम्झना छ, न्यू डायमण्डबाट चितवन र झापाका प्रतियोगितमा प्रथम भएर ट्रफी उचालेको। हाँस्दै उनी भन्छिन्, ‘सुरुसुरुमा भएकाले म त्यतिबेला फाट्टपुट्ट खेल्थेँ।’

उनले आफूलाई निखार्दै लगिन्। कुमार राईले उनलाई सहयोग गरे। क्लबकी उत्कृष्ट खेलाडी प्रतिभा माली घाइते भएर खेल्न नसकेपछि उनी नियमित टीममा पर्दै आएकी छन्। त्यसपछि उनले न्यू डायमण्ड क्लबबाट थुप्रै खेल खेलेकी छन् र धेरै जितको भागीदार भएकी छन्।

उनी यु-२० महिला भलिबल टोलीकी कप्तान हुन्। गएको असारमा उनको कप्तानीमा काभा यु-२० महिला भलिबलमा नेपाल तेस्रो भयो। जसको प्रशिक्षक कुमार राई थिए। ‘हामी सबैको पहिलो अन्तराष्ट्रिय खेल थियो त्यो। हामीले जति खेल्न सक्नुपर्ने थियो, त्यति पनि खेल्न सकेनौँ,’ उनले भनिन्।

कुमार राईले बेला-बेलामा सम्झाउँछन् र भन्छन्, ‘भर्खर आएकी छौँ, सिक्दै छौँ आत्मबल बलियो बनाउनु पर्छ। निडर भएर खेल्नुपर्छ। अनुभवको कमी छ। जुन कुरा विस्तारै बटुल्दै जाने हो। आत्तिनु हुँदैन।’

एकेडेमीको भान्सामा चिया बनाउँदै एञ्जीला प्रधान। तस्बिर: प्रभात खनाल

उनलाई खेल्नु छ। पढ्नु पनि छ। घरबाट बिदाइ गर्दा आमाले भनेको सम्झेर उनी भावुक हुन्छिन्। पहिलो पटक काठमाडौँ हिँड्दा आमाले टीका लगाइदिँदै भेनेकी थिइन् – ‘राम्रो पढ्नू, राम्रो खेल्नू, हाम्रो नाम राख्नू।’ जुन कुरा उनको मनमा गहिरो गरी बसेको छ।

अहिलेको समयमा पढाइ र खेल दुवै महत्वपूर्ण छन् उनका लागि। भन्छिन्, ‘पढाइ र खेलमा समय मिलाउन केही गाह्रो छ।’

तर, दुवै सँगैसँगै लाने उनको अठोट छ। ‘म संखुवासभाबाट यहाँ खेल्न र पढ्न नै आएको हो। मेरो अहिलेको लक्ष्य भनेको राम्रो खेल्ने र पढ्ने नै हो’, उत्सुकका साथ उनले भनिन्। जसको सम्पूर्ण जिम्मा कुमार राईले लिएका छन्।

एभरेष्ट वुमन भलिबल लिगमा जेनिसा विश्वकर्मालाई हौसला दिँदै एञ्जीला प्रधान। दुवैजना न्यू डायण्ड युथ स्पोर्टस् क्लबका खेलाडी हुन्। तस्बिर: प्रभात खनाल

पढ्दै-खेल्दै वा खेल्दै-पढ्दै जे भने पनि रमाइलो लाग्छ उनलाई। हाँस्दै उनी भन्छिन्, ‘यही हो हाम्रो जिन्दगी। खेल्दा रमाइलो लाग्छ। होस्टेलमा बस्ने क्लबमा बहिनी, साथी र दीदीहरु सबै जना सहयोगी छन्। हामी परिवारजस्तै गरी बसेका छौँ।’

उनलाई प्रतिभा मालीको खेल मनपर्छ। भन्छिन्, ‘उहाँ माइन्ड गेम खेल्नुहुन्छ। उहाँसँग हुँदा हामी प्रायः खेल जित्छौँ। उहाँजत्तिको खेलाडी हुन मन छ। सिनियर राष्ट्रिय टोलीबाट चाँडै खेल्ने इच्छा छ।’ उनलाई राम्रोसँग थाहा छ, त्यसका लागि कति मेहनत गर्नुपर्छ भन्ने।

उनी आफ्नो हरेक उपलब्धि आमालाई सुनाउँछिन्। सुनेर आमा दंग पर्छिन् र भन्छिन्– ‘राम्रो गरिरहेकी छौँ। अझै राम्रो गर्दै जानू।’ सुनेर उनी दंग हुन्छिन्। बुवासँग कुरा हुँदैन। गाउँमा पुगेको बेला बुवालाई भेट्न पुग्छिन् उनी। ‘उहाँले गरेको सम्झदा नराम्रो त लाग्छ तर आँखिर जन्मदिने बुवा हो मेरो,’ मलिन अनुहारमा उनले भनिन्।

न्यू डायमण्ड एकेडेमीमा जेनिसा विश्वकर्मा। उनी १० कक्षामा पढ्छिन्। तस्बिर: प्रभात खनाल

गाउँमा अहिले सबैले थाहा पाएका छन् उनी राम्रो भलिबल खेल्छिन् भनेर। केहीअघि उनलाई संखुवासभाको खाँदबारी नगरपालिकाले सम्मान गरेको छ। उनलाई खेलेर पनि केही गर्न सकिन्छ र बन्न सकिन्छ भन्ने बनाउनु छ। खेलेर के पाइन्छ र? त्यसमाथि पनि छोरी मान्छेले भन्ने गाउँघरमा अझै पनि छ, जसको जवाफ दिनुछ उनलाई। हौसिँदै उनी भन्छिन्, ‘हाम्रो गाउँको छोरी गएर यति चाहिँ गर्‍यो है भन्ने बनाउँछु।’

उनलाई लाग्छ, अहिलेको समयमा खेलकुदमा केटाहरुभन्दा केटीहरु नै अघि छन्। अहिले भलिबलका राम्रा दिनहरु आइरहेका छन्। उनी भन्छिन्, ‘त्यसैले अहिलेबाट नै मेहेनत गर्नुपर्छ। कुनै न कुनै दिन राम्रो हुन्छ। यसलाई निरन्तरता दिनुपर्छ। त्यसैले खेल र पढाइ रोज्नु पर्‍यो भने म खेल रोज्छु। भलिबल रोज्छु।’

‘किनभने म आज जहाँ छु, भलिबलका कारण छु’, एकछिनको मौनतापछि उनले भनिन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?