
झापा – झापाको कमल गाउँपालिका– ५ मा रहेको गाई फार्ममा आगलागी भएको छ। सोमबार दिउँसो १ः१० बजे कमल– ५ पाथीभरा टोल बस्ने बिनोद खरेलले आफ्नो घरदेखि अन्दाजी ५० मिटर पूर्व सञ्चालन गरेको लक्ष्मी पशु तथा कृषि गाई फार्ममा करेन्ट सर्ट भई आगलागी भएको हो।
आगलागीबाट खरेलको सिमेन्टको पिल्लर भएको, टिनको छानो र टिनको टाटीले बारेको गाई फार्म पूर्णरुपमा जलेर नष्ट भएको छ। त्यस्तै, पानी तान्ने मोटर, कुटी काट्ने मेसिन, ३५ मन मकै, ५० मन धान र पराल गरी अन्दाजी १६ लाख ५० हजारबराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
उक्त आगो प्रहरी, दमक नगरपालिका, शिवसताक्षी नगरपालिका, गौरादह नगरपालिका र मोरङ उर्लाबारी नगरपालिकाको दमकल र स्थानीयबासीको सहयोगमा पूर्णरुपमा नियन्त्रणमा आएको थियो।