
मुगु – गमगढी बजारदेखि उत्तर, पूर्वमा अवस्थित मुगुम् कार्मारोङ् गाउँपालिका धार्मिक, साँस्कृतिक एवं पर्यटकीय हिसावले अत्यन्तै महत्वपूर्ण मानिन्छ। परापूर्वकालमा कलात्मक शैलीबाट निर्मीत यी गुम्वा र चिट्टिमहरू लाई एक ऐतिहासिक धरोहरको रूपमा लिन सकिन्छ।
यहाँ हरेक गाउँहरूमा चिट्टिम र गुम्वाहरू हुने गरेका छन्। आफ्नो परम्परमगत सांस्कृतिक र धार्मिक पहिचानको प्रतिकको रूपमा सदिउँ देखी गाउँ, गाउँमा चिट्टिम र गुम्वाहरू ऐतिहाँसिक धरोहरका रूपमा रहदै आएका छन्।
चिट्टिम र गुम्वालाई मुगुम् कार्मारोङ् समुदायको परम्परागत ऐतिहतँसिक धरोहरको रूपमा लिईन्छ। यी गुम्पा र चिट्टिमले यहाँको जीवनशैली, इतिहास र सांस्कृतिक विविधतालाई झल्काउँछ।
स्थानीय लामा समुदायहरूले विभिन्न काल खण्डहरूमा आफ्ना दिबंगत नातेदारहरूको संम्नामा पुजापाठको लागि आफ्नो पायक पर्ने स्थानमा चिट्टिम चिन्ने गरिन्छ।
जोकोही बाहिरी नव आगन्तुक पर्यटकहरू पहिलो चोटी गाउँ प्रवेश गर्ने बेला टाढै बाट हेर्दा लस्करै लागेका ढुङ्गाबाट निर्मित चिट्टिम देख्दा अन्यन्तै मनमोहक दृष्यहरू देख्दा मन प्रफुल्लित हुने अनुभव सुनाउछन्।
त्यस्तै, गुम्बाहरू धार्मिक मात्र नभई सामाजिक र सांस्कृतिक केन्द्रका रूपमा स्थापित छन्। यी गुम्बाहरूले क्षेत्रीय एकता, धार्मिक सहिष्णुता र परम्परागत संस्कृतिको जगेर्नामा महत्वपूर्ण भूमिका खेलिरहेका छन्।
मह गाउँका स्थानीय अगुवा पात्मा नुर्व लामाकाअनुसार, पर्यटन प्रवर्द्धन र सांस्कृतिक संरक्षणका लागि चिट्टिम र गुम्बाको प्रचार९प्रसार आवश्यक छ। ‘हामी हाम्रो संस्कृति र परम्परालाई जोगाएरै अघि बढ्न चाहन्छौँ,’ लामाले भने।
करान भेग केबल धार्मिक ,सांस्कृतिक हिसाबले मात्र नभई प्राकितिक सम्पदाको हिसाबले अत्यन्तै प्रख्यात मानिन्छ। कोईकी हिमाल, छायाँनाथ तिर्थ, र विभिन्न हिम सृङ्खलाहरू , मनमोहक तालहरूका साथै यार्सा लगायतका महत्त्वपूर्ण जडीबुटीहरूका साथै विभिन्न मनमोहक पाटन क्षेत्रहरू यही क्षेत्रमा पर्दछन्। सबै प्रकारका सम्पदाहरूले भरिपुर्ण यस क्षेत्रको समग्र बिकासका लागि पर्यटन बिकास मा ध्यान दिनु जरूरी देखिएको मुगुम् कार्मारोङ् गाउँपालिकाका अध्यक्ष छिरिङ्क्याप्ने लामाले बताए।
उनका अनुसार ‘सडक यातायातको बिकास बिना पर्यटन बिकास संभव नहुने भएकाले नेपाल सरकारले गमगढी नाक्चेलाग्ना सडकलाई छिटो निर्माण गर्न नेपाली सेनाको जिम्मा दिनु पर्छ। अनि मात्र पर्यटन बिकासको परिकल्पना गर्न सकिन्छ।’
यस क्षेत्रको पहिचानलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा प्रचार गर्न उचित सरकारी नीति र सहयोगको खाँचो छ। यदि कार्मारोङ्को सांस्कृतिक सम्पदालाई सहि ढङ्गले जगेर्ना गरियो भने यो क्षेत्र पर्यटन र विकासका लागि एउटा उदाहरणीय स्थान बन्न सक्छ।