
इलाम- इलाममा आज गरिएको स्वास्थ्य परीक्षणमा २१ बालबालिका मुटुरोगी भेटिएका छन् ।
नेपाल हर्ट फाउण्डेसन इलाम शाखाको आयोजना र गङ्गालाल राष्ट्रिय हृदय केन्द्रको प्राविधिक सहयोगमा आयोजना गरिएको स्वास्थ्य जाँच शिविरमा यहाँका तीन हजार आठ सय ८६ बालबालिकाको परीक्षण गरिएको थियो ।
तीमध्ये २१ जनामा मुुटुको समस्या देखिएको र आठ जनाको तुरुन्त शल्यक्रिया गर्नुपर्ने भएको फाउन्डेस सचिव रीता अधिकारीले जानकारी दिए।
“इलाम बजारको आदर्श माध्यामिक विद्यालय र इलाम नगरपालिका–५, बरबोटेको अमर माध्यामिक विद्यालयमा परीक्षण गरियो ।” सचिव अधिकारीले भने, ‘आदर्शमा सात विद्यालयका दुई हजार ४२ र अमर माविमा १६ विद्यालयका एक हजार ४४ जना गरी तीन हजार आठ सय ८६ जनाको परीक्षण भयो ।’
उनका अनुसार बालबालिकामा बाथ मुटुरोग दुई जना र जन्मजात मुटुमा समस्या भएका १८ जना पाइएका हुन् ।
शिविरमा गङ्गालाल राष्ट्रिय हृदय केन्द्रका मुटु विशेषज्ञ चिकित्सकले बालबालिकाको मुटु परीक्षण गरेका थिए । मुटुमा समस्या देखिएका बालबालिकाको शल्यक्रिया र सम्पूर्ण उपचार गंगालाल राष्ट्रिय हृदय केन्द्रमा निःशुल्क हुने उनले बताए।
पढिरहेका बालबालिकामा मुटुको समस्या देखिनुले उनीहरुको स्वास्थ्य संवेदनशीलतामा प्रश्न उठेको छ ।
बालबालिकाले चाँडै उपचार पाउनसके अध्ययनमा समस्या नहुने अभिभावकले चिन्ता व्यक्त गरेका छन् । “बालबालिकामै यो समस्या देखिनुले हामीलाई चिन्तित बनाएको छ ।” अभिभावक राधिका भट्टराईले भनिन्, “अब तत्काल उपचार गराएर समाधान गर्न सरकारले पनि सहयोग गर्नुपर्छ ।”