देशसञ्चार चौतारीमा भाग-७८

‘पूर्णबहादुरको सारंगी त जुत्तार्‍याकमा थन्क्याइदिएछन्’

+
-

नेपाली चलचित्र इतिहासमा हालसम्म सर्वाधिक कमाइ गर्ने चलचित्र हो पूर्णबहादुरको सारङ्गी, जसमा शीर्ष भूमिका कलाकार विजय बरालको छ । करिब दुई दशकदेखि रंगमञ्चमा सक्रिय रंगकर्मी बराल चलचित्र ‘छड्के’बाट नेपाली सिनेमामा प्रवेश गरेका थिए । नाटक र चलचित्रमा सहायक पात्रको रूपमा सक्रियता देखाइरहेका बरालले पूर्णबहादुरको सारंगीबाट गम्भीर अभिनेताको नयाँ परिचय स्थापित गर्न सफल भए। उनले देश सञ्चार चौतारीमा आफ्नो अभिनय यात्राको उतारचढावबारे सुनाए।

‘डेढ दशक लामो फिल्म करिअरमा पहिलोपटक यतिधेरै लेयरमा अभिनय देखाउन पाएँ । अब पाउँछु कि पाउँदिन थाहा छैन तर यसपटकको अनुभव भने बिल्कुल फरक रह्यो,’ उनले भने ।

अभिनय यात्रामा उनले थुप्रै ‘साइड रोल’ गरे । कबड्डीका सबै सिरिजमा उनी ‘बिके’ नै बने, कहिले ‘बादीकाान्छो’ कहिले ‘पूर्णबहादुर गन्धर्व’ बने। प्राय: फिल्ममा दयाहाङ राइको साथी हुने बराल एक्लैले पूर्णबहादुरको सारंगीलाई काँधमा बोके, जसले एतिहासिक व्यापार गर्‍यो।

फिल्म छनोट गर्न नजान्दा धेरै चल्तीका अभिनेताहरु बिस्तारै काम पाउन छोड्नु परेको प्रशस्त उदाहारणहरु छन् । तर बराल भाग्यमानी ठहरिए यो मामिलामा। ‘चलचित्रको प्रस्ताव आएको दिन म ठ्याक्कै अन्योलमा परेँ। किनकी साइड रोलकै लागि मात्र रोजाइमा पर्ने मलाई यस्तो प्रस्ताव बिरलै हुने गर्छ। दुई सातासम्म कुनै निर्णय गरिन,’ उनले भने, ‘यो प्रस्तावले एक किसिमको ऊर्जा पनि दियो । एउटा समय पनि भयो, अनुभव पनि भयो । अब अनुभवले पनि यस्ता भूमिका गर्नसक्छु भन्ने आँट जुटाएँ । त्यो बेलाको अवस्था एकदम शून्य थियो के गर्ने भनेर । खुशीसहितको शून्यता ।’

एउटा अन्योलमा छानेको फिल्मले उनलाई ‘स्टार’ बनाइदियो।

जे गरिन्छ त्यो काम सजिलो पनि लाग्छ तर बरालका लागि पूर्णबहादुरको मुख्य भूमिकाले गम्भीर बनाइदियो। एउटा छोरो, श्रीमान र छोरोको बा पनि बन्नु थियो चलचित्र पूर्णबहादुरको सारंगीमा। त्यसैले दश दिन तयारी गरेँ। गन्धर्वको हाउभाउ र सारंगी बजाउने तौरतरिका सिके।

‘सारंगी बजाउन, हातको हर्कत र सारंगी बनाउने शैली पनि सिके,’ उनले भने, ‘हामीजस्ता दोस्रो रोजाइका कलाकारकाका लागि यो आयतनको भूमिका बिरलै प्राप्त हुन्छ । यसलाई म जतिसक्दो उत्कृष्ट बनाउन चाहन्थेँ । त्यसैले मैले यसका लागि पर्दामा जत्तिसक्दो आफूलाई गन्धर्वका रुपमा स्वीकार्य गराउने गरी मिहेनत गरेको थिएँ ।’

पूर्णबहादुरको सारंगी सय करोड क्लबमा पुगेसँगै उनको व्यस्तता बढ्यो । अभिनय यात्राको ‘टर्निङ पोइन्ट’ बराल पूर्णबहादुरको सारंगीलाई दिन्छन् र नयाँ चलचित्रमा मुख्य पात्रका लागि ‘अफर’ आइरहेको छ तर उनी रंगमञ्च फर्किए । किन ?

‘पूर्णबहादुरको सारंगी जब हिट भयो त्यसपछि म आत्तिएँ । फिल्म हिट भए पनि म अर्थात विजय बराल उही हो । अनि सोेचें, आफूलाई सही ठाउँमा उभ्याइराख्न नाटक नै गर्नुपर्छ । किनकि मेरो आधार नाटक नै हो,’ उनले भने।

नाटकबाट चलचित्रमा प्रवेश गरेका धेरै कलाकारहरूलाई रंगमञ्च फर्किन साह्रैृ गाह्रो हुन्छ । तर बराल भन्छन्, ‘नाटकभन्दा राम्रो कमाइ छ चलचित्रमा तर मेरो ध्यान नाटक हो । रंगमञ्च हो । त्यहाँ मैले आफूलाई पाउँछु । त्यसैले रंगमञ्च फर्किन मलाई कुनै गाह्रो छैन ।’

‘डिग्री माइला,’ ‘सिरुमा नानी,’ ‘र—माइलो,’ ‘बिल गेट्स’ र ‘मितज्यु’जस्ता नाटकमा अभिनय गरेका बराल मण्डला थिएटरको सञ्चालकहरू मध्ये एक हुन् । नाटक र सिनेमालाई सँगसँगै अघि बढाइरहेका बरालका लागि थिएटर र चलचित्रमा गरिने अभिनयमा खासै अन्तर देख्दैनन्, र पनि उनी भन्छन्, ‘नाटकमा वान टेक हुन्छ तर चलचित्रमा धेरै टेक लिने अवसर पाइन्छ । फेरि चलचित्रमा बारम्बार टेक लिँदा मुड एकनासको नहुन सक्छ, र नाटकमा भने मुड भत्किँदैन ।’

व्यवस्थापनमा स्नातक गरेका बरालका अभिभावकले जागिर खाइदिओस् भन्ने थियो तर उनी हुर्किएको सर्लाही लालबन्दीमा स्कुल पढ्दादेखि नै कलाकारिताको ‘चस्का’ लाग्यो । स्कुलमा हुने वार्षिक उत्सव र सांस्कृतिक कार्यक्रमहरूमा उनी नेताहरुको ‘क्यारिकेचर’ गर्थे । ‘हास्यकलाकार नारद खतिवाडाको कमेडी गीतमा अभिनय गर्थेँ । नेताहरूको क्यारिकेचर र नारद दाइको कमेडी गीतमा नाच्नु नै अभिनय ठानेको थिएँ । काठमाडौं आए पछि त्यो भ्रम टुट्यो,’ उनले भने ।

किन टुट्यो त भ्रम ? भन्ने जिज्ञासामा पहिलोपटक नाटक हेरेको सम्झिएँ— ‘आफूले गरिरहेको अभिनय केही होइन रहेछ भन्ने पहिलो नाटक हेरेपछि थाहा पाएँ र अभिनयको भोक जगाइदियो ।’

ललितपुरको यला माया केन्द्रमा ‘नेशनल स्कुल अफ ड्रामा’ले दिएको नाटक ४५ दिने नाटक कार्यशालाले उनको जीवनमा अभिनय यात्रा मात्रै मोडिएको थिएन मण्डलासँग पनि जोडिने अवसर पाएका थिए । अनि उनले पहिलो नाटक खेले— अन्धो वेग ।

पूर्णबहादुरको सारंगी फिल्मले कथा मात्रै भनेका छैनन् उनले बाको सम्बन्धका बारेमा पनि बुझ्ने अवसर पाएका छन् । बाबु—छोरोका गहिरो सम्बन्ध र समाजले देखाउने भेदभाव र आफ्नो सपना पूरा गर्ने संघर्षलाई निकै प्रभावकारी रुपमा प्रस्तूत गरेका छन् बरालले । बुवाप्रतिको बुझाइ पनि उनी सुनाउँछन्— खासमा हामीले आफ्नो बालाई समय दिन सकिरहेका छैनौ जस्तो लाग्छ बा सधैं भावुक हुन्छन् तर देखाउँदैनन मात्र ।’

बराल आफ्नै जीवनको एक किस्सा सुनाउँछन्— ‘हामीलाई बाले केही किन्न पर्‍यो भने एकैछिनमा किनिदिन सकिदिनुहुन्छ । तर छोराले बालाई केही किन्न पर्‍यो भने धेरै सोचबिचार गर्ने गरिँदोरहेछ । मैले मेरो बालाई एकजोड कपडा किन्न पनि तीन दिन लगाउँदा बुवाले भन्नु भएको थियो— एक जोड कपडा किन्न तीन दिन लगायौ है ।’

उनी आफूलाई हिरो ठान्दैनन् । न त हिरो हुने होडमा छन् तर उनी अभिनयमार्फत दर्शकको मन जित्ने कोसिस भने सधै रहेको बताउँछन् । भन्छन्, ‘मजस्तो मान्छे हिरो कहाँ हुन सकौँला र? तर अहिले हिरो कथा हुने समय आएको छ । कथा बलियो भएन भने जस्तै हिरो पनि टिक्न गाह्रो छ ।’

जीवनमा अभिनय र क्यारिकेचरबाहेक कविता बाचन गर्न पनि रूचाउँछन् उनी । मौका जुरेमा महाकवि लक्ष्मीप्रसाद देवकोटामाथि फिचरिङ गर्न पनि चाहेका छन् । उनलाई गुगलले कवि भनेर परिचित गराएको छ ।
कलाकारको फिल्म चल्यो भने पारिश्रमिक पनि बढ्छ भनेर भनिन्छ, यतिखेर विजय बरालको पारिश्रमिक पनि आधा करोड पुगेको हल्ला गरिरहेका छन् तर बराल भन्छन्, ‘यो हल्ला हो । पचास लाख दिने निर्माता अहिलेसम्म मसँग भेट भएको छैन । यदि कथा राम्रो भए पचास लाख पारिश्रमिक दिन्छन् भने लिने हा हा हा ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?