
वीरगन्ज- गण्डक नहरमा पाँच सय क्युसेक पानी आएको छ । पर्सादेखि रौतहटसम्म फैलिएको गण्डक नहरमा गहुँबालीमा सिंचाइको लागि पानी आएको हो ।
नहरमा भारतले पाँच सय क्युसेक पानी छोडेको छ ।अहिले किसानहरुले खेतमा लगाएको गहुँ बालीमा पानीको आवश्यकता छ । सोही आवश्यकतालाई मध्यनजर गर्दै नेपाल भारतबीच भएको सम्झौता अनुसार नहरमा पानी भारतले दिएको हो ।
पर्सादेखि रौतहटसम्मका किसानहरूले गण्डक नहरमा भारतले छाडने पानीले धान तथा गहुँ बालीमा सिंचाइ गर्दै आएका छन् । नहरको पानीले नहरको दक्षिणतर्फका किसानहरूले बालीमा सिंचाइ गर्ने गरेका छन् ।
बिगतका बर्षहरूमा समयमा नै गण्डक नहरमा पानी भारतले छाड्ने नगरेकोमा यश बर्ष धान बालीको लागि र गहुँ बालिको लागि पनि समयमा नै नहरमा भारतले पानी छाडेकाले किसानहरू खुसी छन् ।
गत पुस १४ गते नै भारतले नहरमा पाँच सय क्युसेक पानी छोडेको नारायणी सिंचाइ ब्यावस्थापन कार्यालयका इन्जिनियर सुरेस साहले जानकारी दिए । अहिले नहरमा आएको पानी गहुँ खेतीमा सिंचाइको लागि पर्याप्त रहेको उनले बताए ।
नहरमा आएको पानी पर्सा जिल्ला हुँदै बारादेखि रौतहट जिल्लासम्म पुगिसकेको साहले जानकारी दिए । नेपाल र भारत बिच भएको गण्डक सम्झौता अनुसार भारतले हरेक बर्ष धान बालिका लागि असार १५ र गहुँ बालिका लागि पुस १५ मा साढे ८ सय क्युसेक पानी छाडनुपर्ने सम्झौता छ ।
गण्डक नहरबाट पर्सा, बारा र रौतहट गरी तीन वटा जिल्लामा गरी ३७ हजार हेक्टर जग्गामा सिंचाइ हुने गरेको छ । यसपाली केही दिनदेखि चिसो बढेर शित परेका कारण त्यसले गहुँ बालीलाई फाइदा गरेको किसानहरूले बताएका छन् ।
समयमा नै गण्डक नहरमा पनि पानी आएकाले गहुँबालीको लागि चर्को शुल्क तिरेर सिंचाइ गर्दै आएका गरिब किसानहरूलाई फाइदा पुग्ने विश्वास गरिएको छ ।