
काठमाडौं- उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले मेडिकल चश्मामा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउन पहल गर्ने बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित नेपाल नेत्रज्योति संघ केन्द्रीय सभाको २९ औँ अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
नेत्र ज्योतिको समस्या हुने व्यक्तिको आँखा र स्वास्थ्यका लागि चिकित्सले प्रयोग गर्न सुझाव दिने चश्मामा लाग्ने कर हटाउनुपर्नेमा उनको जोड छ ।
उनले नेत्रज्याति संघ गैरसरकारी र गैरनाफामुलक भएको उल्लेख गर्दै चश्मामा लाग्ने मूल्य अभिवृद्धि कर व्यवहारिक बनाउनसके संघले गरिरहेको कार्यमा टेवा पुग्ने बताए । उनले मेडिकल चश्मामा लगाइने मूल्य अभिवृद्धि कर हटाउन अर्थमन्त्री र प्रधानमन्त्रीसँग पहल गर्ने बताएका हुन् ।
‘नेपाल सरकारले ध्यान दिनुपर्ने यो जुन चश्मामा चाहीँ भ्याट लाइरहेको छ । चस्मा भन्नासाथै फेरि पावर ग्लासहरुलाई गनिन्छ । तर आजकल त के छ भन्दाखेरि पावरग्लास मात्रै होइन फेरि निकै फेन्सिबल चश्माहरु पनि हामी पाउँछौं । त्यस्ता चस्माहरु बाहेक आँखा र स्वास्थ्यका लागि चिकित्सकले प्रयोग गर्न सुझाव दिने चश्माहरुमा भ्याट हटउँदाखेरि राम्रो हुन्छ भन्ने कुराहरु आइरहेका छन् । हाम्रो स्वास्थ्य तथा जनसंख्यामन्त्रीज्यु पनि यही हुनुहुन्छ । यसमा वर्कआउट गर्नका लागि हामीले के गर्न सकिन्छ त्यसमा ध्यान दिनेछौं भन्ने कुरा राख्न चाहान्छु,’ उनले भने ।