काठमाडौं- एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटमा राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काको टोली बिजयी भएको छ।
खड्काको विराटनगर वारियर्सले आफ्नो पहिलो खेलमा राष्ट्रिय क्रिकेट टिमका उपकप्तान ज्ञानेन्द्र मल्लको ललितपुर प्याट्रियट्सलाई ६ रनले पराजित गरेको हो।
पहिले ब्याटिङ गरेको बिराटनगरले ललितपुर प्याट्रियट्सलाई एक सय ५१ रनको चुनौती दिएको थियो। जवाफी ब्याटिङ गरेको ललितपुरले ४ विकेट गुमाई १४४ रन मात्र बनाउन सक्यो।
ललितपुरका प्रारम्भिक ब्याट्सम्यान पवन सर्राफले ५१ रन हाने पनि टिमको पराजय टार्न सकेनन्।
ललितपुरका कप्तान मल्ल ३ बल खेली १ रनमा आउट हुँदा अर्का ओपनर भारतीय खेलाडी जय किसन अनिल कोलासवालाले ६ बलमा १२ रन बनाएका थिए।
भारतकै योगेश नगरले ३३ बलमा २७ रन बनाउँदा कुसल भुर्तेलले १९ बलमा २० रन र महबुब आलमले १४ बलमा १३ रन बनाएको थिए।
विराटनगरका बलर करन केसी, पारस खड्का, बसन्त रेग्मी र अन्सुमान राठले एक एक विकेट लिएका थिए।
पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ५० रन बनाएको थियो।
विराटनगरको पालीमा कप्तान पारस खड्काले ३८ , अनिल शाहले ४७ र बाबर हायातले ३४ रन बनाएका थिए। अंशुमान रठले १४ र आसिफ शेखले चार रन बनाएका थिए।
पारस र अनिलबीच चौथो विकेटका लागि ७४ रनको साझेदारी भएको थियो।
अनिलले ३५ बलमा तीन छक्का र दुई चौका प्रहार गरेका थिए। पारसले ३६ बलमा दुई छक्का तथा बाबरले २५ बलमा एक छक्का र पाँच चौका प्रहार गरेका थिए।
यसअघि प्रतियोगिताको दोस्रो दिन मंगलबार सम्पन्न खेलमा पोखराले राइनोजले चितवन टाइगर्सलाई १० विकेटले हराएर विजयी सुरुवात गरेको छ।
त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा पोखराले एक सय १४ रनको लक्ष्य १७.४ ओभरमा कुनै विकेट नगुमाई पुरा गर्यो ।
पोखराका प्रारम्भिक ब्याट्सम्यानद्धय इस्रारुल्लाहले ६१ र सुनिल धमलाले ४६ रन बनाए ।
पाकिस्तानी खेलाडी इस्रारुल्लाहले ५४ बलमा ६ छक्का र एक चौका प्रहार गरे । धमलाले ५४ बलमा दुई छक्का र तीन चौका हिर्काए । २८ वर्षीय इस्रारुल्लाह प्लेयर अफ दी म्याच घोषित भए।
त्यसअघि चितवनले पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय १३ रन जोडेको थियो। चितवनको पालीमा कप्तान दिपेन्द्रसिंह ऐरीले ४२ र अनिल मन्डलले ३२ रन बनाए।
दिलिपनाथ ६, साबेज खान शुन्य , भिम सार्की आठ र योगेन्द्र कार्की सात रनमा आउट भए। पोखराका बलर इस्रारुल्लाहले चार र ताज वालीले तीन विकेट लिए। इस्रारुल्लाहले चार ओभरमा २२ रन खर्चिएका थिए । पाकिस्तानकै वालीले चार ओभरमा २१ रन दिए।
प्रतियोगिताअन्तर्गत बुधबार विराटनगर वारियर्स र पोखरा राइनोज तथा भैरहवा ग्लाडियटर्स र काठमाडौं किंग्स इलेभेनबीच प्रतिस्पर्धा हुने छ।
यो पनि हेर्नुहोस्:

                                                                                                                    
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































