पोखरा– पोखरामा जारी छैटौ संस्करणको संगम कप फुटबल प्रतियोगिता २०७४ अन्तर्गत बुधबार क्वार्टरफाइनलका खेल हुने भएका छन्। बुधबार आयोजक संगम क्लव र गार्डेन फुटबल क्लबबीच पहिलो क्वाटरफाइनल खेल हुने भएको छ।
बुधबार भद्रकालीको समूह र बी १३ समूहबीच दोस्रो क्वार्टरफाइनल खेल हुने भएको छ भने ड्यामसाइड र एलजी एसोेसिएसनको समूहबीच खेल हुने भएको छ। बुधबारको अन्तिम क्वाटरफाइनल खेलमा रञ्जन मेमोरियल स्मृतिको समूह र सहारा क्लबबीच खेल हुने भएको क्लबका सदस्य धिरज तामाङले बताए।
पोखरा रंगशालामा मंगलबार ५ वटा खेल सम्पन्न भएका छन्। पहिलो खेलमा सशस्त्र प्रहरी बलको एपीएफ पराजित भएको छ। एपीएफ बी १३ समूहसँग ३–१ को गोल अन्तरले पराजित भएको हो।
बी १३ को जितमा गोविन केसीले खेलको ३५ औं मिनेटमा र नवराज गुरुङले खेलको ५५ र ६३ औं मिनेटमा गरी दुई गोल गरेका हुन्। एपीएफको तर्फबाट खेलको ५३ औं मिनेटमा सुरज हमालले एक गोल गरे। हमालको गोलले खेल बराबरीमा पुगे पनि पछिको समयमा एपीएफ सम्हालिन नसक्दा प्रि–क्वाटरफाइनलबाटै बाहिरिनुपर्यो।
विमल रानाले खेलको २३ औं मिनेटमा निर्णायक गोल गरी आयोजक संगम क्लबलाई क्वाटरफाइनलमा पुर्याए। दोस्रो खेलमा हेमजा युनाइटेड माथि १–० ले पराजित गरेको संगमले गार्डेनसँग क्वाटरफाइनलमा यात्रा बनाएको हो।
तेस्रो खेलमा सुनिल बिकेको ह्याट्रिकले ड्यामसाइड क्लबले मिलन टोलको समूहमाथि ५–० ले पन्छाउँदै अन्तिम आठमा स्थान बनाएको हो। बिकेले खेलको ८, ४८ र ६१ औं मिनेटमा तीन गोल गरी ह्याट्रिक पूरा गरेका हुन्। ड्यामसाइडका अनिल गुरुङले खेलको ३७ औं र प्रविन शैजुले खेलको ४५ औं मिनेटमा एक/एक गोल गरे।
चौथो खेलमा एलजी एसोसिएसनले शीतल ज्योति क्लबलाई ६–१ गोल अन्तरले पराजित गरेको छ। एलजीको जितमा खेलको २५ र ३७ औं मिनेटमा विश्व गुरुङले दुई गोल गरे भने अजित गुरुङले ३५ र ५६ औं मिनेटमा दुई गोल गरे। सिद्धार्थ रन्जितले खेलको ५१ र किरन रानाभाटले खेलको ५९ औं मिनेटमा एक एक गोल गरेका हुन्। शीतल ज्योतिका किसन गुरुङले खेलको ४० औं मिनेटमा सान्त्वना गोल गरे।
३ जना विदेशी मूलका खेलाडी लिएर मैदानमा ओर्लिएको सहाराले बुटवलको खर्चाटिकार एकेडेमीलाई ४–० ले पन्छायो। सहाराको जितमा खेलको १८ औं मिनेटमा विजय श्रेष्ठले एक गोल गरे। विदेशी मूलका खेलाडी ह्याण्ड्रीले खेलको ३५ र ५८ औं मिनेटमा दुई गोल गरे। खेलको ६० औं मिनेटमा त्रिदेव गुरुङले एक गोल गरे। पोखराको संगम क्लबको आयोजनामा सञ्चालन भएको उक्त प्रतियोगिता पुस ७ गतेसम्म चल्ने क्लबका अध्यक्ष शिव गुरुङ (माया) ले बताए।
यो पनि हेर्नुहोस्:

भर्खरै
लोकप्रिय






































































































































































































