पोखरा- पर्यटकीय सहर पोखरामा १९ औं संस्करणको पोखरा सडक महोत्सव ०७४ को प्रचारका लागि आयोजक सहितको टोली छिमेकी जिल्लाहरुको भ्रमणमा निस्केको छ।
‘सडकमै खाउँ ,सडकमै नाचौ र सडकमै रमाऔं’ भन्ने मूल नाराका साथ हुन लागेको महोत्सव अंग्रेजी नववर्ष सन् २०१८ को अवसर पारी रेष्टुरेण्ट एण्ड बार एशोसिएसन नेपाल (रेवान) पोखराले आयोजना गर्दै आइरहेको छ।
पोखराको लेकसाइडस्थित फेबाताल किनारमा पुस १३ देखि १७ गतेसम्म हुन गइरहेको महोत्सबमा आन्तरिक पर्यटकलाई निम्ता दिन छिमेकी जिल्ला भ्रमणमा आयोजक पुगेका हुन्।
रेबान पोखराका अध्यक्ष एवम महोत्सव संयोजक चौबहादुर गुरुङको नेतृत्वमा २० जनाको टोली पोखराबाट निस्केको हो। टोलीले बुधबार बुटबलमा र बिहीबार सौराहामा पत्रकार सम्मेलन गरी महोत्सबबारे जानकारी दिने अध्यक्ष गुरुङले बताए। उनले विश्वकै उत्कृष्ट गन्तब्यमा पर्ने सफल सुन्दर सहर पोखरामा आन्तरिक तथा बाह्य पर्यटकलाई थप आर्कषण गर्ने महोत्सवको आयोजना गरेको बताए।
अग्रेजी नयाँ वर्ष मनाउने गन्तव्य स्थलको रुपमा पोखरालाई विकास गर्ने उद्देश्यले महोत्सब आयोजना हुँदै आएको हो। ‘महोत्सवले पोखरा र आसपासका ग्रामीण पर्यटनको विकासलाई सघाउ पुर्याउँछ र यहाँको कला, संस्कृति र सम्पदाको प्रचारमा विकास पुर्याउँछ। बिदेशीमाझ नेपाली कला संस्कृति चिनाउने र आदान प्रदान गर्ने महोत्सबको उद्देश्य छ,’ उनले भने।
लेकसाइडको फिस्टेल गेटदेखि खहरे र डिहींको पाटनसम्मको ३ किलोमिटरको सडकमा हुन लागेको पाँच दिने महोत्सवमा ५ लाख आन्तरिक तथा बाह्य पर्यटक भित्रयाउने लक्ष्य रेवानले लिएको छ। महोत्सव अवधिमा त्यस क्षेत्रमा सञ्चालित होटल तथा रेष्टुरेण्टहरुले सडकमा नै भान्छा बनाएर पर्यटकलाई सेवा दिने अध्यक्ष गुरुङले बताए।
विभिन्न सांस्कृतिक कार्यक्रम र स्टलका लागि, खेल मनोरञ्जन गतिविधिका लागि फेवाताल किनारमा रहेको कोमागाने पार्कमा प्रयोग गरिएको छ। महोत्सवमा विभिन्न एक सयभन्दा बढी स्टल छन्। पर्यटकलाई सडक महोत्सवको मज्जा दिने त्यस क्षेत्रका होटल व्यवसायीले सडकमै भान्छा राखेर सेवा दिनेछन्।
महोत्सवमा राष्ट्रिय लोकदोहोरी गीत, बाल उद्यान, फुड फेस्टिबल, पञ्चेबाजा, नेवारी लाखे नाच, गुरुङ नाच, थकाली नाच, भजन चुड्का, मगर समुदायको कौडा, तामाङ सेलो, कर्मचारी दौड, वेटर रेस लगायतका कार्यक्रमहरु समेत गरिने रेवान पोखराका सल्लाहकार एवम् पूर्व अध्यक्ष बलराम पहारीले जानकारी दिए।

                                                                                                                    
                            
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































