काठमाडौँ– एभरेस्ट प्रिमियर लिग (ईपिएल) क्रिकेटमा शुक्रबार चितवन टाइगर्सलाई ७१ रनले पराजित गर्दै विराटनगर वारियर्सले लगातार तेस्रो जित हात पारेको छ। प्रतियोगितामा अपराजित रहेको विराटनगर चितवनविरुद्ध ब्याटिङ र बलिङ दुवैमा हाबी भयो। पहिला ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ७४ रन जोडेको थियो।
विराटनगरको पालीमा हङकङका बाबर हायातले विस्फोटक ब्याटिङ गर्दै ८१ रन बनाए। अंशुमान रठले ४१, आसिफ शेखले २१ र पारस खड्काले १६ रनको योगदान गरे। पाकिस्तानी मुलका हङकङ राष्ट्रिय टोलीका सदस्य हायातले ४२ बलमा ६ छक्का र पाँच चौका हिर्काएका थिए। चितवनले १८.२ ओभरमा सबै विकेट गुमाएर एक सय तीन रनमात्र जोड्न सक्यो।
विराटनगरका बलर बसन्त रेग्मीले चार र अबिनाश कर्णले दुई विकेट हात पारे। करण केसी,अंशुमान र पुष्प थापाले एक एक विकेट लिए। चितवनका भिम सार्कीले २४, सन्दिप सुनारले १६ तथा कमल ऐरी र प्रविन गुप्ताले १३/१३ रन बनाए । स्पिनर बसन्तले ३.२ ओभरमा केवल ११ रन खर्चिएका थिए।
पाकिस्तानी मुलका हायात प्लेयर अफ दी म्याच घोषित भए। पारस खड्काको कप्तानीमा रहेको विराटनगर तीन खेलबाट ६ अंक जोडेर शिर्षस्थानमा छ। दिपेन्द्र सिंह ऐरीको कप्तानीमा रहेको चितवनले तीन खेल खेलिसके पनि खाता खोल्न सकेको छैन । दुई खेलबाट चार अंक भएको भैरहवा ग्लाडियटर्स दोस्रो स्थानमा छ। तीन खेलपछि पोखरा राइनोज चार अंक जोडेर तेस्रो स्थानमा छ। चार खेल खेलेको काठमाडौं र तीन खेल खेलेको ललितपुर प्याट्रियट्सको समान दुई अंक छ।

                                                                                                                    
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































