सुर्खेत-जिल्ला प्रशासन कार्यालयले कालिकोट सदरमुकाम मान्म बजारलाई निषेधित क्षेत्र घोषणा गरेको छ। शुक्रबार प्रहरीको गोली लागी एक म्यादी प्रहरीको ज्यान गएपछि तनावग्रस्त कालिकोटमा दिउँसो साढे तीन बजेदेखि निषेधित क्षेत्र घोषणा गरिएको हो ।
स्थानीय बासिन्दाले गोली चलाउने प्रहरीलाई तत्काल कारबाही, मृतकलाई सहिद घोषणा, पीडित परिवारलाई उचित क्षतिपूर्ति र म्यादी प्रहरीको माग सुनुवाइ गर्नुपर्ने मागसहित प्रदर्शन गरेका थिए।
उक्त प्रदर्शनबाट थप क्षति हुन नदिन निषेधित क्षेत्र घोषणा गरिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले बताए।
घटनाको विरोधमा सदरमुकाम मान्म बजार बन्द गरिएको छ भने यातायातका साधनहरु समेत सञ्चालनमा आउन सकेका छैनन्।
आन्दोलनकारीले राजमार्गमा टायर बालेर यातायात ठप्प पारेका छन्। सवारी साधन आवतजावत नहुँदा दर्जनौं यात्रुहरु बाटोमा अलपत्र परेका छन्।
मृतकलाई सहिद घोषणा र क्षतिपूर्ति उपलब्ध नभएसम्म आफन्तले शव नबुझ्ने अडान लिएका छन्।
मृतक म्यादी प्रहरी ऐडी पीडित संघर्ष समितिले माग पूरा नभएसम्म आन्दोलन जारी रहने जनाएको छ। मृतकलाई सहिद घोषणा, पीडित परिवारलाई २५ लाख क्षतिपूर्ति, दोषीलाई कारबाही, घाइतेको निःशुल्क उपचार र म्यादी प्रहरीको माग पूरा हुनुपर्ने अडान संघर्ष समितिले लिएको छ।

                                                                                                                    
                            
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































