
काठमाडौँ- बुधबार बिहान बत्तीसपुतलीमा भएको दुर्घटनामा अभिनेत्री बिना थापाको मृत्यु भएको छ। मुसिकोट गाउँपालिका–२ गुल्मी स्थायी घर भएकी बिनाले अभिनय गरेको नयाँ फिल्म ‘पिंजडा ब्याक अगेन’ प्रदर्शनको तयारीमा छ।
‘पिंजडा ब्याक अगेन’ मा निखिल उप्रेतीले अभिनय गरेका छन्।
पुरानो बानेश्वरबाट गौशालातर्फ जाँदै गरेको बा.२ ख ८९४ नम्बरको पानीट्याङकरले सोही दिशातर्फ जाँदै गरेको बा.५५ प १३८७ नम्बरको स्कुटरलाई बत्तीसपुतलीमा ठक्कर दिँदा दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक गणेश खनालले जानकारी दिए।
खनालका अनुसार स्कुटरमा सवार थापा घाइते भएपछि उनलाई उपचारका लागि ट्रमा अस्पतालमा लागिएको थियो।
उपचारको क्रममा ट्रमा अस्पतालमै थापाको निधन भएको खनालले बताए ।
ठक्कर दिने ट्याङकर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।
बिनाले ‘उर्वशी’, ‘डिभोर्स’ फिल्मसँगै दर्जन बढी म्युजिक भिडियो र नाटकमा समेत अभिनय गरेकी छिन्। देश तथा विदेशमा हुने सांगीतिक कार्यक्रममा उनी बढीजसो व्यस्त रहँदै आएकी थिइन्।