
पोखरा-अंग्रेजी नयाँ वर्षको स्वागतार्थ रेवान पोखराले आयोजना गरेको १९ औं पोखरा सडक महोत्सवले बाह्य तथा आन्तरिक पर्यटकलाई आकर्षित गरेको छ।
चिसो मौसमको परवाह नगरी पोखरेलीहरु राति अबेरसम्म पनि लेकसाइडमा देखिएका छन्। महोत्सवको दोस्रो दिन शुक्रबार विभिन्न साँस्कृतिक कार्यक्रम, लोक तथा पपगीत तथा खेलकुदका कार्यक्रमहरु सम्पन्न भएका छन्।
शुक्रबार दिउँसो महोत्सवको मुख्य स्थल कोमागाने पार्कमा लोकगीतमा दर्शकहरु रमेका थिए। राष्ट्रिय कलाकारहरु पशुपति शर्मा, सुमित्रा लामा तथा प्रजापति पराजुली, पार्वती जिसीलगायतले लोकदोहोरी मार्फत दर्शकहरुलाई मनोरन्जन दिलाएका थिए भने शुक्रबार साँझ स्याडोज, इन्फ्लेम, इन्टरनेसनल हिमालयन प्याविलियन लगायतका ब्याण्डहरुको प्रस्तुति रहने पप संयोजक योगेशबहादुर भट्टराईले जानकारी दिए।
त्यसैगरी शुक्रबार नै सम्पन्न डुङ्गा दौडमा स्विमिङपुलघाट प्रथम, बाराही घाट ‘इ’ दोस्रो तथा बाराही घाट ‘सी’ तेस्रो भयो। बसुन्धरापार्कदेखि सुरु भएको डुङ्गा दौड बाराही मन्दिर घुमेर पुन: बसुन्धरा पार्कमै आएर सम्पन्न भएको प्रतियोगिताको संयोजक कृष्ण गिरीले जानकारी दिए। प्रतियोगितामा प्रथम हुनेले नगद १५ हजार, द्वितीय हुनेले नगद १० हजार तथा तृतीय हुने समूहले नगद ५ हजार पुरस्कार प्राप्त गरे।
विजयी समूहहरुलाई रेवान पोखराका अध्यक्ष चौबहादुर गुरुङ्ग, पूर्वाध्यक्षद्वय सूर्य भुजेल र बलराम पहारीले पुरस्कार वितरण गरेका थिए।
त्यसैगरी खेलकुदतर्फ शनिबार बिहान हल्लनचोकस्थित चिल्ली बार रेष्टुरेण्ट अगाडिबाट बिल्ली बन्टर रेष्टुरेण्टसम्म वेटर रेस तथा दिउँसो गौरीघाटमा रस्साकसी प्रतियोगिता हुने खेलकुद कार्यक्रमका संयोजक लोक गुरुङ्गले जानकारी दिए।
महोत्सवको पहिलो र दोस्रो दिन दर्शकहरुको सहभागिता उल्लेख्य रहेको रेवान पोखराका उपाध्यक्ष लक्ष्मण बरालले बताए। क्षेत्रीय कृषि निर्देशनालयले आयोजना गरेको सुन्तला प्रदर्शन कार्यक्रम पनि दर्शकहरुले रुचिका साथ अवलोकन गरेको पनि बरालले बताए। महोत्सव अन्तर्गत शनिबार लोकदोहोरीतर्फ कोमल वली, सम्झना भण्डारी, कृष्ण काफ्ले, पुरुषोत्तम न्यौपानेले लगायतका कलाकारहरुको प्रस्तुति रहने छ भने साँझ सविन राईको प्रस्तुति रहने छ।