विराटनगर-विराटनगरमा निर्माणाधीन टर्मिनल भवनसहितको बसपार्कको काम अन्तिम चरणमा पुगेको छ। दुइतल्ले पक्की भवनसहितको टर्मिनल फागुन अन्तिम साताभित्र सम्पन्न हुने विराटनगर महानगरपालिकाले जनाएको हो।
‘करिब २ विघा क्षेत्रफलमा निर्माण भइरहेको टर्मिनल भवनको ७० प्रतिशत कार्य सकिएको छ, अब निर्धारित समयअघि नै सवारीसाधनहरु व्यवस्था गर्न सकिनेछ,’ टर्मिनल निर्माणका प्रोजेक्ट इन्जिनियर अर्जुन थापाले जानकारी दिए।
टर्मिनल भवनका लागि कुल बजेट ४ करोड ४७ लाख मध्ये नागरिक लगानी कोषले ९० प्रतिशत, सरकारी अनुदान ७ दशमलव ५ प्रतिशत र महानगरपालिकाले २ दशमलव ५ प्रतिशत लगानी गरेको इन्जिनियर थापाले बताए। द्रुतगतिमा काम भइरहेको उल्लेख गर्दै इन्जिनियर थापाले भने, ‘निर्धारित समयभन्दा कम्तीमा दुई महिनाअघि नै टर्मिनल भवन निर्माण भई टेण्डर आव्हानको प्रक्रिया जानेछ।’ उनका अनुसार अब बसपार्कमा भुइँस्तरको पिचिङको कार्यमात्र बाँकी छ।
वैशाख १ गतेबाट महानगरपालिका उक्त बसपार्क सञ्चालनमा ल्याउने तयारीमा रहेको छ।
टर्मिनल भवनसहितको बसपार्कको सन्दर्भमा पूर्वनेपाल यातायात बस व्यवसायी संघका महासचिव धर्मदेव साहले टर्मिनल भवन निर्माणपछि यात्रुहरुले सहजता पाउने बताउँछन्। ‘हिजोका दिनमा यात्रुलाई बस्न, खानपिनका लागि उचित व्यवस्थापन हुन नसकेको यस बसपार्क भवनमा अब त्यो समस्या टर्नेछ,’ उत्साहित हुँदै साहले भने।
टर्मिनल भवन निर्माणका लागि महानगरपालिका र काठमाडौंको गौरीपार्वती जेभी निर्माण कम्पनीबीच गतवर्ष मंसिरमा १८ महिनाभित्र कार्य सम्पन्न गर्ने सम्झौता भएको थियो। १६ वटा कोठासहितको भवनमा, शौचालय, बसटिकट बुकिङ कक्ष, क्यान्टिन, यात्रु आश्रयस्थल लगायत रहनेछन्।

                                                                                                                    
                            
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































