
राजविराज-मुलुकमा लोकतन्त्र प्राप्तिका लागि सप्तरीवासीले नेतृत्वदायी भूमिका खेलेको भन्दै प्रदेश नं २ को राजधानी राजविराज नै हुनुपर्नेमा स्थानीयले जोड दिएका छन्।
सप्तरीको राजविराजमा शनिबार नागरिक सञ्जाल र बृहत् नागरिक सञ्जालले आयोजना गरेको ‘प्रदेश नं २ को राजधानी राजविराजमा’ विषयक विचार गोष्ठीमा सहभागी वक्ताले राजविराज नै प्रदेश २ को राजधानी बन्न उपयुक्त भएको दाबी गरेका हुन्।
नेकपा (एमाले) का केन्द्रीय सदस्य सुमनराज प्याकुरेलले लोकतन्त्रका लागि भएका सबैजसो आन्दोलनमा सप्तरीवासीको भूमिका नेतृत्वदायी नै रहेकाले जिल्लाको विकास र इतिहास जोगाउनका निम्ति प्रदेश नं २ को राजधानी राजविराज नै हुनुपर्ने बताए।
‘लोकतन्त्रका लागि भएका सबैजसो आन्दोलनमा सप्तरीवासीको भूमिका नेतृत्वदायी छ’, उनले भने, ‘त्यसैले जिल्लाको विकास र इतिहास जोगाउनका निम्ति प्रदेश नं २ को राजधानी राजविराज नै हुनुपर्छ।’
उनले जिल्लाको समृद्धि, विकास र राजविराज राजधानी हुनुपर्ने विषयमा एमाले पार्टीको पूर्ण सहयोग र साथ रहने प्रतिबद्धतासमेत व्यक्त गरे। साथै ‘जिल्लाको समृद्धि र विकासका लागि पनि प्रदेशको राजधानी राजविराज हुनु जरुरी छ’, उनले भने, ‘राजधानीको विषयमा एमालेको साथ र सहयोग रहन्छ पनि।’
गोष्ठीमा वरिष्ठ पत्रकार अनिलकुमार अनल, प्राध्यापक देवनारायण यादव, अधिवक्ताद्वय भूपेन्द्रनारायण मण्डल र राजेन्द्रप्रसाद देव, समाजसेवी हासिम अन्सारी, महिला अधिकारकर्मी अभासेतु सिंह र समाजसेवी जगरनाथ मुन्धडाले राजविराजको विकासका लागि प्रदेश नं २ को राजधानी हुनुपर्ने धारणा राखे।
उनीहरुले गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंह, मधेशका लागि अधिकार सुरक्षित गर्ने र प्रान्तको माग गर्ने मधेशका मसिहा गजेन्द्रनारायण सिंहको जन्मथलो सप्तरी नै भएकाले राजविराजलाई नै राजधानी बनाउनुपर्नेमा समेत जोड दिएका छन्।
कार्यक्रममा विभिन्न राजनीतिक दल आबद्ध नेता, कानून व्यवसायी, बुद्धिजीवी, नागरिक अगुवालगायतले समेत राजविराज प्रदेश नं २ को राजधानी हुनुपर्नेमा आ–आफ्नो विचार प्रस्तुत गरेका थिए। (रासस)

