दोहा- साउदी अरेबियाले मक्का यात्रा गर्न आएका कतारी नागरिकलाई अनावश्यक रूपमा दुःख दिन थालेको छ। कतारी दैनिक अल रायाले साउदीले कतारीलाई अप्ठेरो पार्ने गरेको शुक्रबार जानकारी दिएको छ।
हाल कतार र साउदीबीच शत्रुतापूर्ण सम्बन्ध रहँदै आएको छ।
सन् २०१७ को जुनमा कतार र साउदी अरेबियाबीच कूटनीतिक सम्बन्ध बिग्रिएको थियो। त्यस बेला साउदी, इजिप्ट, बहराइन र संयुक्त अरब इमिरेट्सले कतारसँग आफ्नो कूटनीतिक सम्बन्ध विच्छेद गरेका थिए।
ती देशले कतारसँग जल, स्थल र हवाई सबै नाका बन्द गरेका छन्। कतारले आतंकवादी संगठनलाई आर्थिक सहयोग गर्ने गरेको र इरानसँग नजिकको सम्बन्ध बनाएको उनीहरूको आरोप छ।
अल राया र अलजजिराले मक्का तीर्थयात्रा गर्न गएका कतारका २० जना नागरिकलाई साउदी अध्यागमनले जेद्दा विमानस्थलबाटै कुवेत पठाइदिएको थियो। उनीहरूलाई दुई दिनसम्म हिरासतमा राखिएको थियो। हज यात्रा वर्षमा एकपटक निश्चित दिनमा गरिन्छ भने उमराह (मक्का यात्रा) वर्षैभर गर्न सकिन्छ।
कतारी नागरिक मोहम्मद बिन हामिद अल मोहनदीले ट्विट गरे, ‘म उमराहका लागि साउदी जान चाहन्थें तर साउदी अध्यागमनले मलाई रोकिदियो।’
धार्मिक यात्रामा राजनीति गरेर साउदी अरेबियाले अमानवीय व्यवहार देखाएको भन्दै कतारले विरोध गरेको छ ।
यो पनि हेर्नुहोस्:
साउदी जेलमा रहेका भुसाललाई छुटाउन ४५ लाख जुट्यो