पोखरा- निर्माण कामले तीब्रता पाउने समयमा सिमेन्ट र छड कम्पनीले मनोमानी रुपमा मूल्य वृद्धि गरेको भन्दै पोखराका हार्डवेयर व्यवसायीले मूल्य वृद्धि फिर्ता नलिए व्यवसाय बन्द गर्ने चेतावनी दिएका छन्।
पोखरा हार्डवेयर एसोसिएसनले एक विज्ञप्ति निकाल्दै निर्माण सामग्री सिमेन्ट, छडको माग अधिक हुने समयमा मूल्यवृद्धि गरेर व्यवसायीलाई मर्का पारेको भन्दै चेतावनी दिएको हो।
‘व्यवसायमाथि नै उद्योग कम्पनीहरुले थेग्न नसक्ने गरी सामानको मूल्य बढाउँदा एकदम मर्का परेको छ,’ एसोसिएसनका अध्यक्ष राजेशकुमार गुप्ताले भने, ‘विगत १० दिनदेखि नेपालभरिका सिमेन्ट र छड कम्पनीहरुले बिनाकारण र बिनाआधार पीपीसी सिमेन्टमा प्रति ५० किलोग्रामको बोरामा १ सय रुपैयाँ, ओपीसी सिमेन्टमा १ सय २० रुपैयाँ र फलामे छडमा प्रति किलोग्राम १३ रुपैयाँ मूल्यवृद्धि भएको छ।’
उनले अस्वाभाविक रुपमा गरिएको मूल्यवृद्धिले व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था आएको बताए।
अनावश्यक कृत्रिम अभाव सिर्जना गरी मूल्य बढाउँदा व्यवसाय नियमित रुपमा सञ्चालन गर्न नसक्ने विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिमा भनिएको छ, ‘यस प्रकारको मूल्यवृद्धिवाट कास्कीमा रहेका २ सय २० हार्डवेयर व्यवसायी व्यवसाय सञ्चालन गर्न नसक्ने अवस्थामा पुगेका छौं।’
सम्बन्धित कम्पनीसँग पटकपटक अनुरोध गर्दा पनि सुनुवाइ नभएपछि मूल्यवृद्धिले उपभोक्ता र हार्डवेयर व्यवसायीमा मर्का परेको भन्दै समस्याप्रति गम्भीर हुन सरोकारवालाई आग्रह गरिएको छ। विज्ञप्तिमा छ, ‘विद्यमान अवस्थामा लोडसेडिङ पनि छैन, डलरको भाउ पनि बढेको छैन, क्लिंकरको भाउ समेत बढेको छैन र स्वदेशमै प्रशस्त मात्रामा क्लिंकर मौज्दात रहेको अवस्थामा उपभोक्ताको ढाड सेक्ने गरी मूल्य बढाइएको छ, यो सरासर कम्पनीहरुले गरेको अत्याचार र अन्याय हो।’