
काठमाडौँ- सरकारले ११ वर्षपछि पृथ्वी जयन्तीको सार्वजनिक बिदा दिने निर्णय गरेपछि सरकारी निकायलाई पनि पृथ्वीजयन्ती मनाउन सहज देखिएको छ।
२०६३ सालको दोस्रो जनान्दोलनपछि पृथ्वी जयन्तीको सार्वजनिक बिदा कटौती भएको थियो।
नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित पत्रकार सम्मेलनमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले सरकारले सार्वजनिक बिदा दिँदा नेपाली सेना, सशस्त्र प्रहरी, जनपद प्रहरी लगायतका निकायहरुले सहज रुपमा सहयोग गरेको बताए।उनले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पनि आर्थिक सहयोग गरेको जानकारी दिए।
पत्रकार सम्मेलनमा २ सय ९६ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मूल समारोह समितिका अध्यक्ष तथा प्रतिष्ठानका कुलपति उप्रेतीले पृथ्वीनारायण शाहले मूलुक एकीकरणमा गरेको योगदान स्मरण गर्न पनि पृथ्वी जयन्ती मनाउनु पर्ने बताए।
प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्राध्यापक डाक्टर जीवेन्द्रदेव गिरिले पुस २४ गते प्रज्ञा प्रतिष्ठानको सभा हलमा ‘आजको सन्दर्भ र पृथ्वी नारायण शाह’ बिषयक विचार गोष्ठी, पुस २५ र २६ गते नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले चित्रकला प्रदर्शनी र नेपाल प्रज्ञा प्रतिष्ठानले पुस्तक प्रदर्शनी गर्ने कार्यक्रम रहेको जानकारी दिए।
उनका अनुसार पुस २७ गते बिहान १० बजे प्रज्ञा प्रतिष्ठानबाट प्रभातफेरी गर्दै सिहंदरबारको पश्चिम गेटमा रहेको पृथ्वीनारायण शाहको शालिक माल्यार्पण गरी प्रज्ञा परिसरमा कोणसभा गर्ने कार्यक्रम छ।
यस्तै पुस २७ गते प्रज्ञा प्रतिष्ठानले दिउँसो २ बजे राष्ट्रिय सभा गृहमा प्रवचन कार्यक्रम आयोजना गर्ने जनाएको छ।
प्रज्ञा प्रतिष्ठानका कुलपति उप्रेतीले प्रज्ञा प्रतिष्ठानले गर्ने कार्यक्रम बाहेक देशव्यापी रुपमा पृथ्वी जयन्तीका विभिन्न कार्यक्रमहरु आयोजना हुने बताए। उनले देशभरिका सँग संस्थालाई पृथ्वी जयन्ती भव्य रुपमा मनाउन आग्रह गरेका थिए।
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस आयोजना मूल समितिमा प्रज्ञा प्रतिष्ठानका अलावा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, नेपाल ललित कला प्रज्ञा(प्रतिष्ठान, संस्कृतिक संस्थान संस्थान, पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस नागरिक समारोह समिति, नेपाल इतिहास संघ, गोरखा सेवा समाज, लायन्स क्लब अन्तराष्ट्रिय बहु जिल्ला ३२५ नेपाल, २५ं नागरिक समूह, उल्यालो नेपाल, नेपाल निर्माण व्यवसायी महासंघ लगायत सहभागी छन्।