
दिपायल- डोटीमा प्रदेश राजधानीको माग गर्दै चार दिनदेखि आमहड्ताल जारी छ। आमहड्तालको चौँथो दिन शनिबार पनि यातायातका साधन, बजार तथा सरकारी कार्यालय, गैह्रसरकारी संघसंस्था, शिक्षण संस्था सबै बन्द छन्। एकहप्ता शान्तिपूर्ण आन्दोलन गरेको संघर्ष समितिले बुधबारबाट आमहड्ताल गरेको थियो ।
संघर्ष समितिले शनिबार पनि डोटीका विभिन्न ठाउँहरुमा सिठ्ठी बजाउँदै जनप्रदर्शन गर्नुका साथै दबाबमूलक सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ। सिठ्ठी जुलुसपछि सांस्कृतिक कार्यक्रममा परिणत भएको कार्यक्रममा दर्जनौँ स्थानीय कलाकार तथा स्रष्टाले आफ्नो कलामार्फत दबाब दिएका थिए।
संघर्ष समितिका संयोजक तथा डोटी उद्योग वाणिज्य संघका अध्यक्ष नरेन्द्र खड्काले सरकारमाझ आफूहरुले निरन्तर रुपमा एघारौँ दिनदेखि माग राख्दै आए पनि सरकारबाट कुनै किसिमको प्रतिक्रिया नआएपछि आफ्नो आवाज सरकार समक्ष पुर्याउन सिठ्ठी बजाउँदै जुलुस निकालेको बताए।
सरकारले दिपायललाई स्थायी राजधानी नतोकेसम्म सरकारको निर्णयअनुरुप आन्दोलनको स्वरुपमा फरकपन आउन सक्ने बताउँदै उनले आफ्ना आन्दोलनका कार्यक्रमहरु जारी रहने जानकारी दिए।
चार दिनदेखि सडक, बजार सबै बन्द गरिएका छन्। डोटी हुँदै सुदूरपश्चिमका पहाडी जिल्ला र तराई जिल्लातर्फ जाने यात्रुहरु पैदल हिँडेर जान बाध्य भएका छन्। पैदल हिँड्दै गर्दा बाटोमा चाउचाउ, बिस्कुटलगायत पनि खान नपाएको पैदल यात्रुको गुनासो छ।
बन्दमा कुनै पनि गाडीहरुमा तोडफोड नभए पनि बन्दको अवज्ञा गर्ने एम्बुलेन्स, मोटरसाइकललगायत सवारी साधन नियन्त्रणमा लिएको छ। बन्दकर्ताले अछामबाट बिरामीको बहना बनाउँदै डडेल्धुरातर्फ यात्रु लैजाँदै गरेको उपक्षेत्रीय अस्पताल डडेल्धुराको एम्बुलेन्सलाई समेत नियन्त्रणमा लिएका थिए। (रासस)
यो पनि हेर्नुहोस्:
यसकारण राजधानीका लागि दिपालयको दाबी
अस्थायी राजधानी तोक्दा हिंसाको डर, अबको निर्णय प्रान्तको जिम्मा

